मन्त्री सोविता गौतम र फ्रान्सेली राजदूतबीच भेटवार्ता
काठमाडौँ,असोज २३ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम र नेपालका लागि फ्रान्सेली राजदूत फ्रान्स्वाज पुइग–उन्जाबीच शिष्टाचार भेटवार्ता भएको छ।
सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा राजदूत उन्जाले भोटेकोशी बाढीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति समवेदना प्रकट गर्नुभएको थियो।
भेटमा पारस्परिक कानुनी सहायतासम्बन्धी विषयमा दुई देशबीच सहमति गर्न आवश्यक प्रक्रिया छिटो अघि बढाउने विषयमा छलफल भएको थियो। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पारस्परिक कानुनी सहायतासम्बन्धी नेपालको केन्द्रीय निकाय हो।
त्यस्तै, नेपालको हवाई सेवालाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप सञ्चालन गर्न सेवा प्रदायक र नियामक निकायलाई अलग गर्ने संरचनासहित सरकारले विधेयक दर्ता गरेको विषयमा पनि छलफल भएको थियो। राजदूत उन्जाले हवाई सुरक्षासम्बन्धी कालोसूचीबाट नेपाललाई हटाउन सरकारले गरिरहेका प्रयासको प्रशंसा गर्नुभएको थियो।
भेटमा दुवै पक्षले नेपाल–फ्रान्स द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाउँदै आवश्यकताअनुसार समन्वय र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए। भेटमा कानुन तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरूको उपस्थिति थियो।

