आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङ भन्छन्– ‘फरक सिलिन्डर भए पनि अब निर्धक्क साट्नुस्’



काठमाडौं,असोज २४ । ग्यासका सिलिन्डर सहजै साटफेर नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले आइतबारदेखि काठमाडौं उपत्यकाका छ स्थानबाट विभिन्न १३ वटा कम्पनीका ग्यास सिलिन्डर साट्न सक्ने भएका छन् ।

नेपाल एलपी ग्यास उद्योग सङ्घले नेपाल आयल निगमको समन्वय र ग्यास बिक्रेता महासङ्घको सहकार्यमा सिलिन्डर साटफेरको व्यवस्था मिलाएको हो । आइतबारदेखि शनिबारसम्म बिहान ९ः३० देखि अपराह्न ४ः३० बजेसम्म तोकिएका स्थानबाट ग्यासको सिलिन्डर साट्न सकिनेछ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले फरक कम्पनीका ग्यास सिलिन्डर भएका कारण चिन्तित उपभोक्तालाई चाडपर्वका बेला सहज रूपमा ग्यास उपलब्ध गराउन साटफेरको व्यवस्था गरिएको बताउनुभयो । उहाँले फरक कम्पनीका सिलिन्डर भए पनि अब निर्धक्क साट्न सकिने जानकारी दिनुभयो ।

नेपाल एलपी ग्यास उद्योग सङ्घका अनुसार काठमाडौंको सिफलस्थित ग्यास एन्ड अक्सिजन ट्रेडर्सबाट एभरेष्ट र सुगम, पेप्सीकोलाबाट सगर, बालाजु औद्योगिक क्षेत्रबाट नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी, सुकेधाराबाट बाबा र श्री तथा कलङ्कीबाट साइबाबा र श्रीकृष्ण ग्यासका सिलिन्डर साट्न सकिनेछ । त्यसैगरी, ललितपुरको हरिसिद्धिबाट श्रीराम ग्यासका सिलिन्डर साट्न सकिने व्यवस्था मिलाइएको छ ।

सङ्घका अध्यक्ष दिवान चन्दले तोकिएका स्थानमा काठमाडौं उपत्यकामा बिक्री वितरण हुने सदस्य उद्योगका ग्यास सिलिन्डर मात्रै साटफेर गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्