नेपालमा दैनिक ७० लाख अण्डा उत्पादन गर्ने लक्ष्य, विद्यार्थीको दिवा खाजामा अण्डा खुवाउन किसानको छुट
चितवन,असोज २४ । नेपालमा अण्डाको उत्पादन र खपत बढाउन निजी क्षेत्र र सरकारले संयुक्त रूपमा पहल गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । मानव स्वास्थ्यका लागि आवश्यक प्रोटिनलगायत पोषक तत्वको महत्वपूर्ण स्रोत अण्डाको उत्पादन बढाउनुका साथै यसको महत्वबारे जनचेतना फैलाउनुपर्ने उनीहरूको भनाइ छ ।
विश्व अण्डा दिवसको अवसरमा नेपाल लेयर्स कुखुरापालक सङ्घले शुक्रबार चितवनमा आयोजना गरेको छलफल कार्यक्रममा सहभागीले अण्डाको उत्पादन र खपत वृद्धि गर्न सरकारी तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका हुन् ।
सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले सरकारले सहयोग गरेमा अण्डाको उत्पादन बढाउन किसान तयार रहेको बताउनुभयो । अण्डाको उपभोग बढाउन गरिने आग्रहलाई व्यवसायसँग जोडेर मात्र हेर्न नहुने भन्दै उहाँले सरकारले पनि यसको पोषणसम्बन्धी महत्व आम नागरिकसम्म पुर्याउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले विद्यार्थीलाई विद्यालयको दिवा खाजामा सातै दिन अण्डा खुवाउने व्यवस्था सरकारले गरेमा किसानका तर्फबाट प्रतिगोटा पाँच रुपैयाँ छुट दिन तयार रहेको बताउनुभयो । अण्डाले लागतअनुसारको मूल्य पाउन थालेपछि किसानको आकर्षण बढेको उल्लेख गर्दै उहाँले भारतीय अण्डाको अवैध आयात रोकिएपछि नेपाली किसानले राहत महसुस गरेको जानकारी दिनुभयो ।
अध्यक्ष पोखरेलका अनुसार अहिले नेपालमा दैनिक करिब ३८ लाख अण्डा उत्पादन भइरहेको छ । कोभिड–१९ महामारीअघिको अवस्थामा फर्कने लक्ष्यसहित दैनिक ६५ देखि ७० लाख अण्डा उत्पादन गर्ने योजनाअनुसार काम भइरहेको छ । चार वर्षअघि करिब १२० जना रहेका ठूला व्यावसायिक लेयर्स कुखुरापालक किसानको सङ्ख्या अहिले बढेर १८० पुगेको छ ।
उहाँका अनुसार अण्डा उत्पादनको लागत प्रतिगोटा १९ रुपैयाँ १२ पैसा रहेको छ । बजारमा ३० वटा अण्डाको एक क्यारेटको मूल्य करिब ६०० रुपैयाँ पुगेको छ । विगतमा लागतअनुसार मूल्य नपाउँदा धेरै किसान व्यवसायबाट विस्थापित भएको उल्लेख गर्दै उहाँले किसान सङ्गठित भएर बजारीकरण गर्न थालेपछि अहिले लागत मूल्य पाउने अवस्था बनेको बताउनुभयो ।
नेपालमा प्रतिव्यक्ति वार्षिक ६९ अण्डा खपत
पोषण विज्ञ डा. दिनेश गौतमले नेपालमा अन्य देशको तुलनामा अण्डाको खपत निकै कम रहेको तथ्याङ्क प्रस्तुत गर्नुभयो । उहाँका अनुसार विश्वमा प्रतिव्यक्ति वार्षिक औसत १८५ अण्डा खपत हुने गरेको छ । एसियामा यो सङ्ख्या १८७ र दक्षिण एसियामा ८७ रहेको छ ।
नेपालमा भने प्रतिव्यक्ति वार्षिक ६९ अण्डा मात्रै खपत हुने गरेको उहाँले जानकारी दिनुभयो । भारतमा ११२, श्रीलङ्कामा १३२, बङ्गलादेशमा १३७ र पाकिस्तानमा ४८ अण्डा प्रतिव्यक्ति वार्षिक खपत हुने गरेको उहाँले बताउनुभयो ।
डा. गौतमका अनुसार सन् २०१५ मा नेपालमा प्रतिव्यक्ति वार्षिक ६० अण्डा खपत हुने गरेकामा अहिले बढेर ६९ पुगेको छ । यस अवधिमा अण्डाको खपत १५ प्रतिशतले बढेको भए पनि जनसङ्ख्या वृद्धि करिब छ प्रतिशत रहेको उहाँले बताउनुभयो । विश्वमा सबैभन्दा बढी अण्डा उत्पादन गर्ने देश चीन र दोस्रोमा भारत रहेको उल्लेख गर्दै उहाँले नेपालमा पनि उत्पादनसँगै खपत बढाउन आवश्यक रहेको बताउनुभयो ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डा. रामानन्द तिवारीले अण्डाको उत्पादन मात्रै बढाएर नपुग्ने भन्दै यसको खपत बढाउने कार्यक्रम पनि सञ्चालन गर्नुपर्ने बताउनुभयो । सरकारले अण्डाको प्रयोग बढाउन प्रचारात्मक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै उहाँले किसानलाई प्रोत्साहन गर्ने व्यवस्था समेटेर कृषि ऐन जारी गर्ने तयारी भइरहेको बताउनुभयो ।
प्रस्तावित व्यवस्थामा किसानका सन्तानलाई छात्रवृत्ति, कृषि ढुवानीका साधनलाई छुट्टै नम्बर र किसान तथा परिवारलाई यातायातमा छुटजस्ता विषय समावेश गरिएको उहाँले जानकारी दिनुभयो । कृषि पेसालाई सम्मानित र आकर्षक बनाउन यस्ता कार्यक्रम आवश्यक रहेको उहाँको भनाइ थियो ।
वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले अण्डा प्रोटिनको स्रोत मात्र नभई शरीरको वृद्धि, विकास र समग्र स्वास्थ्यका लागि आवश्यक विभिन्न पोषक तत्वको महत्वपूर्ण स्रोत भएको बताउनुभयो । उहाँका अनुसार एउटा अण्डामा करिब छ ग्राम प्रोटिनका साथै भिटामिन ए, बी समूह, डी र ई, फोलेट, फस्फोरस, सेलेनियम तथा जिङ्क पाइन्छ ।
अण्डाको पहेँलो भागसमेत खान मिल्ने बताउँदै उहाँले बालबालिकालाई उमेरअनुसार अण्डा खुवाउन र यसको पोषणसम्बन्धी सही जानकारी अभिभावकसम्म पुर्याउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
युसेक अमेरिकन सोयका कन्ट्री मार्केट लिड डा. अशेष भट्टराईले नेपालको अण्डा उत्पादन र बजारीकरणमा आफूहरूले सहयोग गर्दै आएको बताउनुभयो । निजी क्षेत्र र सरकारबीच साझेदारी भएमा मात्रै उत्पादन र खपत दुवै बढाउन सकिने उहाँको भनाइ थियो ।
कार्यक्रममा सहभागीले विद्यालयका पाठ्यक्रममा अण्डाको पोषणसम्बन्धी महत्व समावेश गर्नुपर्ने, विद्यार्थीको दिवा खाजामा अण्डाको प्रयोग बढाउनुपर्ने र किसानले उत्पादनको लागतअनुसार मूल्य पाउने वातावरण सरकारले बनाउनुपर्ने सुझाव दिएका थिए ।

