विद्यालय बस दुर्घटनाः पुरानो बस नचलाउन भनेका थियौँ : स्थानीयवासी
कास्की,असोज २४ । पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरबाट विद्यालयको बस खस्दा चार विद्यार्थी र एक ज्येष्ठ नागरिक गरी पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ विद्यार्थी र बस चालक घाइते भएका छन् । शुक्रबार बिहान ६ः३३ बजे सौर्य माझठानाबाट कालिकास्थानतर्फ आउँदै गरेको कालिका इङ्लिस बोर्डिङ स्कुलको ग २ ख १४१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको हो ।
दुर्घटनाको खबर पाएलगत्तै स्थानीय विकल केसी दुई जना साथीसहित उद्धारका लागि घटनास्थलतर्फ दौडिनुभयो । सामुदायिक प्रहरी कालिकाका पूर्वअध्यक्षसमेत रहनुभएका केसी घटनास्थल पुग्दा कोही विद्यार्थी भीरमा अड्किएका थिए भने कोही बससँगै तल खसेका थिए । घाइते विद्यार्थीको चित्कार र बचाउन गरिएको गुहारले उहाँलाई स्तब्ध बनायो । उद्धारका लागि आवश्यक सामग्री नहुँदा पनि उहाँहरू पछि हट्नुभएन । घाइते विद्यार्थीलाई पिठ्युँमा बोकेरै सडकसम्म ल्याउन थाल्नुभयो ।
“हामीसँग उद्धारका लागि केही पनि सामान थिएन । सबैलाई पिठ्युँमै बोकेर भए पनि माथि बाटोसम्म ल्यायौँ,” केसीले उद्धार गर्दाको अनुभव सुनाउनुभयो । उहाँका अनुसार स्थानीय करिब १०–१२ जना सुरुमा उद्धारमा खटिएका थिए । त्यसपछि सुरक्षाकर्मीको टोली पनि घटनास्थलमा पुगेको थियो ।
दुर्घटनामा परी कालिका बोर्डिङ स्कुलका १३ वर्षीया ममता तिवारी, १४ वर्षीया रुमिका नेपाली, १४ वर्षीय अशिम कँडेल र सुवेच्छा तिवारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । यसैगरी, बसमा लिफ्ट मागेर यात्रा गरिरहेका माझठानाका ६५ वर्षीय बाबुराम तिवारीको पनि मृत्यु भएको कास्कीका प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिनुभयो ।
कक्षा ८ र १० मा अध्ययनरत विद्यार्थी बिहान ट्युसन पढ्न विद्यालय आउँदै गर्दा दुर्घटनामा परेका थिए । विद्यालय पुग्न केही समय मात्रै बाँकी रहँदा बस भीरबाट खसेको थियो । दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ भने अन्यको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस चालक पोखरा–१५ निवासी ५७ वर्षीय तुलबहादुर गुरुङको ढाड र छातीमा चोट लागेको छ । उहाँको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारण भने खुलिसकेको छैन । स्थानीयका अनुसार सामान्य उकालो र फराकिलो पक्की सडकमा बस दाहिनेतर्फ मोडिनुपर्ने स्थानमा सिधै भीरतर्फ खसेको थियो । सडकमा सवारी चलाउन कठिनाइ हुने अवस्था नरहेको स्थानीयको भनाइ छ । बसका चालक घाइते भएकाले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
स्थानीयले दुर्घटनामा परेको बस निकै पुरानो रहेको र विद्यार्थीले समेत त्यसमा चढ्न आनाकानी गर्ने गरेको बताएका छन् । बसको अवस्था पुरानो भएकाले प्रयोग नगर्न विद्यालय प्रशासनलाई पटक–पटक आग्रह गरिएको स्थानीय केसीले बताउनुभयो । “गाडी पुरानो भएको थियो । पटक–पटक हामीले पुरानो गाडी प्रयोग नगर्नु भनेर सम्झाएका पनि हौँ । तर, आज यस्तो दुःखद घटना भोग्नुपर्यो,” उहाँले दुःख व्यक्त गर्नुभयो ।
स्थानीयले बस पुरानो भएकै कारण दुर्घटना भएको आशङ्का गरे पनि यसको प्राविधिक पुष्टि हुन बाँकी छ । उद्धारका क्रममा चालकसँग सामान्य कुराकानी हुँदा उहाँले दुर्घटनाअघि एक्कासि अँध्यारो देखेको बताएको केसीले जानकारी दिनुभयो । यद्यपि, दुर्घटनाको वास्तविक कारण अनुसन्धानपछि मात्रै खुल्नेछ ।
एउटै गाउँका चार विद्यार्थीको मृत्यु भएपछि माझठाना गाउँ शोकमा डुबेको छ । बिहान घरबाट विद्यालय जान निस्किएका बालबालिकाको दुर्घटनामा मृत्यु भएको खबरले परिवार, आफन्त र छिमेकी स्तब्ध बनेका छन् । घाइतेलाई उपचारका लागि ल्याइएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा दुर्घटनाको खबर फैलिनासाथ आफन्त तथा स्थानीयको भीड लागेको थियो ।
पोखरा–२८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले दुर्घटनाले सिङ्गो माझठाना गाउँलाई शोकमा डुबाएको बताउनुभयो । “एउटै गाउँका चार विद्यार्थीले दुर्घटनामा जीवन गुमाए भने अन्य घाइते छन् । बिहान उठेर सधैँझैँ विद्यालय गएका विद्यार्थीको आज यो हालत हुँदा सबैको मन रोएको छ,” उहाँले भन्नुभयो । उहाँले दुर्घटनाको निष्पक्ष छानबिन गरी वास्तविक कारण पहिचान गर्नुपर्नेमा जोड दिनुभयो ।
दुर्घटनापछि पोखरा महानगरपालिकाले घटनाको सत्यतथ्य छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ । महानगरपालिकाका प्रमुख एवं नगर शिक्षा समितिका अध्यक्ष धनराज आचार्यका अनुसार समितिलाई दुर्घटनाको कारण पहिचान गर्ने, घटनासँग सम्बन्धित विषयको विस्तृत अध्ययन तथा छानबिन गर्ने र आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुधारका उपायसहित सुझाव पेस गर्ने जिम्मेवारी दिइएको छ ।

