३६ दिनको कष्टकर यात्रापछि गलेश्वर आइपुगे भेडाच्याङ्ग्रा, बिक्रीमा ढिलाइ हुँदा किसान चिन्तित
म्याग्दी,असोज २४ । दसैँका लागि भेडाच्याङ्ग्रा बिक्री गर्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार जना किसान ३६ दिनको कष्टकर यात्रापछि शुक्रबार साँझ म्याग्दीको गलेश्वर आइपुगेका छन् । प्रतिकूल मौसम, हिमपात र सडक अवरुद्ध हुँदा लामो समय लगाएर बजारसम्म आइपुगे पनि दसैँका लागि समयमै बिक्री गर्न नपाइने चिन्ताले किसानलाई सताएको छ ।
मुगुको छायानाथ रारा नगरपालिका–६ का बिकको टोलीले दुई सय भेडाच्याङ्ग्रा ल्याएको छ । त्यसमध्ये एक सय आफ्नै घरमा पालेका र एक सय छिमेकीबाट खरिद गरेका हुन् । पोखरामा बिक्री गर्ने उद्देश्यले उनीहरू गत भदौ १८ गते घरबाट हिँडेका थिए ।
“यसपालि प्रतिकूल मौसम र मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध हुँदा धेरै दुःख पाइयो,” बिकले भन्नुभयो, “डोल्पाको छार्कामा हिमपात भएपछि एक हप्ता रोकियौँ । घरबाट हिँडेको ३६ दिनमा बल्ल गलेश्वर आइपुगेका छौँ ।” शनिबार भेडाच्याङ्ग्रा गाडीमा राखेर पोखरा लैजाने योजना रहेको उहाँले बताउनुभयो । तर, दसैँ नजिकिँदै गर्दा ढिलो गरी बजार पुग्दा बिक्री प्रभावित हुने हो कि भन्ने चिन्ता उहाँलाई छ ।
डोल्पाको काइके गाउँपालिका–२ का मानप्रसाद रोकायासहित सात जना किसान पनि सात सय भेडाच्याङ्ग्रा लिएर पोखरातर्फ लागेका छन् । घरबाट हिँडेको २२ दिनपछि उनीहरू शुक्रबार म्याग्दीको घोडेपानी हुँदै कास्कीतर्फ अघि बढेका हुन् । भेडाच्याङ्ग्रापालनलाई मुख्य पेसा बनाएका उनीहरू हरेक वर्ष दसैँमा बिक्री गर्न विभिन्न बजार पुग्ने गर्छन् । यसपालि भने बाढीपहिरोले यात्रामा थप सास्ती दिएको छ ।
डोल्पाको काइके गाउँपालिका–२ सहरताराका सञ्जय बुढा पनि २५ दिन पैदल यात्रा गरेर एक सय ६० च्याङ्ग्रा बिक्री गर्न पोखरातर्फ लाग्नुभएको छ । समुद्री सतहदेखि चार हजार मिटरभन्दा माथिका क्षेत्रमा पालिएका च्याङ्ग्रा खेदाएर बजारसम्म ल्याउन निकै कठिन हुने उहाँ बताउनुहुन्छ । “भिर, खोल्सा र साँघुरो बाटोमा च्याङ्ग्रालाई हिँडाएर बजार पुर्याई बिक्री गर्नु हाम्रो परम्परादेखिकै पेसा हो,” उहाँले भन्नुभयो ।
सडक अवरुद्ध हुँदा आपूर्तिमा समस्या
असोज ८ देखि ११ गतेसम्मको वर्षापछि आएको बाढीपहिरोले बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध हुँदा भेडाच्याङ्ग्रा बजारसम्म पुर्याउन समस्या भएको हो । सडक अवरुद्ध हुँदा पैदल यात्रा गर्ने किसानदेखि सवारीसाधनमार्फत ढुवानी गर्ने व्यापारीसम्म प्रभावित भएका छन् । यसले बजारमा भेडाच्याङ्ग्रा पुग्न ढिलाइ हुनुका साथै किसानको खर्चसमेत बढाएको छ ।
दसैँ नजिकिएसँगै डोल्पा, जुम्ला र उपल्लो मुस्ताङबाट भेडाच्याङ्ग्रा लिएर आएका किसान तथा व्यापारीको जोमसोमदेखि बेनीसम्म चहलपहल बढेको छ । मुस्ताङबाट बेनी–जोमसोम सडक हुँदै गलेश्वर ल्याइएका भेडाच्याङ्ग्रा ट्रक र कन्टेनरमा राखेर पोखरा, काठमाडौँलगायत सहरमा पठाउन थालिएको छ ।
कृषि तथा पशुपन्छी विकास कार्यालय मुस्ताङका प्रमुख लालमणि अर्यालका अनुसार डोल्पाबाट मुस्ताङ आउने बाटो हिउँले ढाकिँदा त्यहाँका सबै किसानले भेडाच्याङ्ग्रा बजारसम्म ल्याउन सकेका छैनन् । तातोपानी र रसुवा नाका बन्द भएकाले यसपालि ठूला सहरमा भेडाच्याङ्ग्रा आपूर्तिको मुख्य मार्ग मुस्ताङ बनेको छ । जोमसोममा भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण गरी निकासी अनुमति दिने व्यवस्था मिलाइएको छ ।
कार्यालय प्रमुख अर्यालका अनुसार हालसम्म १० हजार भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण गरी निकासी अनुमति दिइएको छ । गत वर्ष मुस्ताङबाट १८ हजार भेडाच्याङ्ग्रा निकासी भएका थिए ।
लागत बढ्यो, मूल्य पनि महँगियो
सडक, विद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा भेडाच्याङ्ग्रा खरिद तथा ढुवानीमा समस्या भएको व्यापारीले बताएका छन् । बेनी नगरपालिका–९ का व्यापारी डेकबहादुर चोखालका अनुसार मुस्ताङमा असोज दोस्रो सातादेखि सडक, विद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा किसानसँग सम्पर्क गर्न कठिन भएको थियो । “किसानसँग सम्पर्क हुन नसकेपछि भनेजस्तो भेडाच्याङ्ग्रा ल्याउन पाइएन,” उहाँले भन्नुभयो ।
व्यापारीका अनुसार मुस्ताङमा आकारअनुसार भेडा प्रतिगोटा ३२ हजारदेखि ३५ हजार रुपैयाँ र च्याङ्ग्रा करिब ४० हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बेनीमा आइपुग्दा भेडाको मूल्य करिब ३६ हजार र च्याङ्ग्राको मूल्य ४५ हजार रुपैयाँ पुगेको बेनी नगरपालिका–९ तोरीपानीका यामबहादुर बानियाले बताउनुभयो ।
पाँच वर्ष उमेर पुगेका च्याङ्ग्रा मासुका लागि उपयुक्त मानिने उहाँको भनाइ छ । “महँगो परे पनि दसैँमा हिमाली क्षेत्रमा जडीबुटीयुक्त बुकीमा चरेका च्याङ्ग्राको मासु खाने चलन छ,” उहाँले भन्नुभयो । मुस्ताङी भेडाच्याङ्ग्राको मुख्य बजार पोखरा र काठमाडौँ हुन् । म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, तनहुँ र लमजुङमा पनि यसको माग हुने गरेको धवलागिरि गाउँपालिका–७ का व्यापारी प्रेम छन्त्यालले बताउनुभयो ।
च्याङ्ग्रापालनमै निर्भर हिमाली किसान
मुस्ताङको नामग्यालका किसान तेन्जिङ गुरुङका अनुसार च्याङ्ग्रापालन हिमाली क्षेत्रका किसानको मुख्य आयस्रोत हो । मुस्ताङका वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा करिब ५० हजार च्याङ्ग्रा पालिएका छन् । च्याङ्ग्राको शरीरबाट निस्कने भुवा पस्मिनाको कच्चा पदार्थका रूपमा प्रयोग हुन्छ ।
यद्यपि, च्याङ्ग्रापालनमा अनेक चुनौती छन् । हिउँचितुवा र ब्वाँसोको आक्रमणबाट पशु जोगाउन कठिन हुने गरेको छ । पर्याप्त हिउँ नपर्दा लेकाली क्षेत्रमा घाँस कम उम्रिने र आहार अभाव हुने समस्या छ । हिउँदमा अत्यधिक हिमपात हुँदा पनि आहार नपाएर भेडाबाख्रा मर्ने गरेका छन् ।
दसैँको बजारबाट वर्षभरिको आम्दानी जुटाउने आशामा हिमाली किसानले भेडाच्याङ्ग्रा खेदाएर सहरसम्म ल्याउने गर्छन् । तर, यसपालि प्रतिकूल मौसम, हिमपात र सडक अवरोधका कारण यात्रा लम्बिएको छ । लामो पैदल यात्रा, बढ्दो खर्च र बजारमा बिक्री गर्न भएको ढिलाइले किसानको आम्दानी प्रभावित हुने चिन्ता बढाएको छ ।

