आज सोह्रश्राद्ध समापन, गोकर्णसहितका तीर्थस्थलमा पितृ तर्पण गर्नेको भीड



काठमाडौं,असोज २४। आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष अर्थात् सोह्रश्राद्ध आज शनिबार समापन हुँदैछ । पितृ पक्षको अन्तिम दिन आश्विन कृष्ण औँसीका अवसरमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सोह्रश्राद्ध समापन गरिँदैछ ।

पितृ पक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी १६ तिथिमा दिवंगत पितृका नाममा श्राद्ध गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह अर्थात् आमाको बुबाको श्राद्ध भने आइतबार गरिनेछ ।

पितृ पक्षको अन्तिम दिन औँसी श्राद्ध गरिन्छ । कुनै कारणवश पितृ पक्षका अन्य तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमले बताउनुभयो । आज पनि गर्न नसकिएमा आपत् धर्मअनुसार आश्विन शुक्ल प्रतिपदादेखि पञ्चमीसम्म श्राद्ध गर्न सकिने उहाँको भनाइ छ ।

त्यस अवधिमा पनि श्राद्ध गर्न नसकिएमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिने शास्त्रीय व्यवस्था छ । उक्त दिन पनि सम्भव नभए वृश्चिक सङ्क्रान्तिसम्म अनुकूल समय मिलाएर श्राद्ध गर्न सकिने मान्यता रहेको गौतमले बताउनुभयो ।

नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठको धर्मशास्त्र विभागका प्रमुख प्राडा देवमणि भट्टराईका अनुसार आश्विन शुक्ल पञ्चमीपछि अष्टमी, द्वादशी र औँसीका दिन, भरणी नक्षत्र तथा व्यतीपात योग परेको समयमा पनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने विकल्प धर्मशास्त्रका ग्रन्थमा उल्लेख छ । त्यसपछि पनि श्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ र नसक्नेले ब्राह्मणमार्फत वैदिक मन्त्र १०८ पटक दैनिक जप गर्न सकिने उहाँले जानकारी दिनुभयो ।

सोह्रश्राद्धका अवसरमा काठमाडौं उपत्यकाको उत्तरपूर्वी भेगमा रहेको गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती, देवघाट र त्रिवेणीलगायत तीर्थस्थलमा पितृप्रति श्रद्धा व्यक्त गर्दै श्राद्ध गर्नेको भीड लाग्ने गर्छ ।

पितृ पक्षको समापनसँगै दुर्गा पक्ष अर्थात् बडादसैँको धार्मिक क्रम सुरु हुन्छ । यस वर्ष असोज २५ गते घटस्थापना गरेसँगै बडादसैँको औपचारिक सुरुआत हुनेछ ।

प्रतिक्रिया दिनुहोस्