मुग्लिङ–काठमाडौँ सडक अवरुद्ध भएपछि हेटौँडा हुँदै जाने यात्रुवाहक सवारीलाई प्राथमिकता



मकवानपुर,असोज २४। मुग्लिङ–काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने सवारीसाधनको चाप बढेको छ। चाप बढेसँगै बडादसैँका यात्रुलाई सहज आवागमन गराउन यात्रुवाहक सवारीसाधनलाई प्राथमिकता दिएर सवारी व्यवस्थापन गरिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख रमेश विष्टका अनुसार यात्रुवाहक सवारीसाधनलाई पहिलो प्राथमिकतामा राखेर त्रिभुवन राजपथलगायत वैकल्पिक सडकमा आवागमनको व्यवस्था मिलाइएको छ। यात्रुवाहक सवारीपछि इन्धन तथा खाना पकाउने ग्यास बोकेका सवारीसाधनलाई प्राथमिकता दिइएको उहाँले बताउनुभयो।

धादिङको गल्छी क्षेत्रमा सडक अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढेको हो। त्रिभुवन राजपथ साँघुरो हुनुका साथै घुम्तीहरूमा ठूला सवारीसाधन सञ्चालन गर्न कठिनाइ हुने भएकाले आलोपालो प्रणालीबाट सवारी सञ्चालन भइरहेको छ। यस क्रममा कतिपय सवारीसाधनलाई एकदेखि दुई घण्टासम्म रोक्नुपर्ने अवस्था रहेको प्रमुख विष्टले जानकारी दिनुभयो।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले निर्धारण गरेको व्यवस्थाअनुसार त्रिभुवन राजपथमा ११ मिटरसम्म लम्बाइ भएका यात्रुवाहक सवारीसाधनलाई सञ्चालन अनुमति दिइएको छ। त्यस्तै, १० चक्काभन्दा बढी भएका तथा १५ टनभन्दा बढी भार बोकेका मालवाहक सवारीसाधनलाई उक्त सडकखण्डमा सञ्चालन गर्न रोक लगाइएको छ।

साना यात्रुवाहक सवारीसाधनका लागि भीमफेदी सडकखण्ड प्रयोग गर्ने व्यवस्था मिलाइएको छ। हेटौँडाको चौकीटोलमा टाटा सुमो तथा विद्युतीय सवारीसाधनको पार्किङ र यात्रु चढाउने व्यवस्था गरिएको छ। भीमफेदी सडकखण्डमा साना सवारीसाधनको दोहोरो आवागमन भइरहेको छ भने देउराली र जुरिखेतलगायत स्थानमा ट्राफिक प्रहरी परिचालन गरिएको छ।

बडादसैँलाई लक्षित गरी हेटौँडा बसपार्क र चौकीटोलमा यात्रु सहायता कक्षसमेत सञ्चालन गरिएको छ। यात्रुले बढी भाडा तिर्नुपर्ने समस्या, सवारीसाधन चढ्न हुने कठिनाइ तथा सडकको अवस्थाबारे जानकारी लिनुपर्ने आवश्यकतालाई ध्यानमा राखेर सहायता कक्ष स्थापना गरिएको प्रमुख विष्टले बताउनुभयो।

सवारी दुर्घटना न्यूनीकरणका लागि साँघुरा सडक, अप्ठ्यारा घुम्ती र जोखिमयुक्त स्थानमा ट्राफिक प्रहरी परिचालन गरिएको छ। चालकलाई तीव्र गतिमा सवारी नचलाउन, जथाभाबी उछिन्ने काम नगर्न र सडकको अवस्थाअनुसार सावधानी अपनाउन सचेत गराइएको छ। उपलब्ध ट्राफिक जनशक्तिलाई सवारी व्यवस्थापनमा परिचालन गरिएको जनाउँदै प्रमुख विष्टले सडकको अवस्था र सवारी चापअनुसार व्यवस्थापनलाई थप प्रभावकारी बनाइने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्