दसैँको मुखमा चौतारामा ग्यास र पेट्रोलको हाहाकार, उपभोक्ता दाउरा र इन्धन खोज्दै भौँतारिँदै
चौतारा,असोज २४। बडादसैँ नजिकिँदै गर्दा सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको अभाव चुलिएको छ। ग्यास नपाएपछि उपभोक्ता दाउराको भर पर्न बाध्य भएका छन् भने पेट्रोल भर्न सवारीधनीले झन्डै ३५ किलोमिटर टाढा सुकुटेसम्म पुग्नुपर्ने अवस्था छ।
चौताराकी मैना कपालीलाई यसपालिको दसैँ कसरी मनाउने भन्ने चिन्ताले सताउन थालेको छ। झन्डै २० दिनदेखि ग्यासको अभाव झेल्दै आउनुभएकी उहाँ दिनहुँ नजिकैको ग्यास डिलरमा पुगेर ग्यास आए–नआएको बुझ्नुहुन्छ। तर, हरेक पटक रित्तो हात फर्कनुपरेको उहाँको गुनासो छ। जसोतसो दाउराको जोहो गरेर चुल्हो बाल्दै आउनुभएकी उहाँलाई अहिले दाउरा पाउनसमेत मुस्किल हुन थालेको छ।
दसैँको मुखमा खाना पकाउने ग्याससमेत सहज रूपमा नपाएपछि स्थानीय समाजसेवी धुवलाल श्रेष्ठ पनि चिन्तित हुनुहुन्छ। ग्यासको अभाव लम्बिँदै गए माटोको चुलो बनाएर झिँजा र परालको जोहो गर्नुपर्ने अवस्था आउन सक्ने उहाँ बताउनुहुन्छ। “आखिर चुल्हो त बाल्नै प¥यो सरकार,” उहाँले व्यङ्ग्यात्मक रूपमा भन्नुभयो। चाडपर्वको समयमा समेत खाना पकाउने आधारभूत इन्धनका लागि नागरिक भौँतारिनुपर्ने अवस्थाले सर्वसाधारणलाई थप समस्यामा पारेको छ।
सरकारले पछिल्लो समय एलपी ग्यासको आपूर्ति सहज बन्दै गएको दाबी गरे पनि चौतारालगायत जिल्लाका अधिकांश स्थानमा उपभोक्ताले सहज रूपमा ग्यास पाउन सकेका छैनन्। चाडपर्वका लागि खाद्यान्न र दैनिक उपभोग्य वस्तुको जोहो गर्नुपर्ने समयमा ग्यासकै लागि डिलर धाउनुपर्दा उपभोक्ताको सास्ती बढेको छ।
व्यवसायी अम्मरबहादुर श्रेष्ठका अनुसार कम्पनीबाट पर्याप्त ग्यास आपूर्ति नहुँदा बजारमा अभाव भएको हो। उहाँको पसलबाट मात्र चौतारा क्षेत्रमा मासिक करिब दुई हजार सिलिन्डर ग्यास बिक्री हुने गरेको छ। तर, पछिल्लो समय कम्पनीले तीन सय सिलिन्डरसमेत उपलब्ध नगराएको उहाँको भनाइ छ। कम्पनीले नयाँ डिलर थपेपछि पुराना डिलरलाई पर्याप्त ग्यास नदिएको आरोपसमेत उहाँले लगाउनुभएको छ। नयाँ डिलरमार्फत बिक्री गर्दा बढी मुनाफा लिन सकिने भएकाले पुराना डिलरलाई उपेक्षा गरिएको उहाँको दाबी छ। यद्यपि, आपूर्ति घट्नुको वास्तविक कारण र वितरण प्रणालीबारे सम्बन्धित निकायले स्पष्ट पार्न आवश्यक छ।
ग्याससँगै चौतारा र आसपासका क्षेत्रमा पेट्रोलियम पदार्थको समस्या पनि गम्भीर बनेको छ। चौतारा–मेल्चौरस्थित एक मात्र पेट्रोल पम्प बनदेवी फ्युल सेन्टर विभिन्न कारणले बन्द भएपछि सवारीधनी र चालकहरू इन्धनको जोहो गर्न सास्ती खेपिरहेका छन्। पेट्रोलियम पदार्थ भर्न उनीहरू ग्यालिन बोकेर झन्डै ३५ किलोमिटर टाढा सुकुटेस्थित पेट्रोल पम्प पुग्नुपर्ने वा महँगो मूल्यमा अनौपचारिक रूपमा बिक्री भइरहेको इन्धन किन्नुपर्ने बाध्यतामा छन्।
स्थानीय क्षेत्रमा पेट्रोल पम्प सञ्चालन नहुँदा सर्वसाधारण, सार्वजनिक यातायातका चालक तथा निजी सवारीधनी प्रभावित भएका छन्। इन्धन भर्न टाढा जानुपर्दा समय र खर्च बढेको छ। आवश्यक परेको समयमा नजिकै इन्धन उपलब्ध नहुँदा बिरामी बोक्ने सवारीसाधन, सार्वजनिक यातायातलगायत अत्यावश्यक सेवामा समेत असर पर्न सक्ने जोखिम छ।
मेल्चौरस्थित बनदेवी फ्युल सेन्टरका सञ्चालक श्यामकृष्ण श्रेष्ठका अनुसार विविध कारणले तत्काल पेट्रोल पम्प सञ्चालन गर्न सकिने अवस्था छैन। नयाँ पेट्रोल पम्प स्थापना गर्न आवश्यक कार्यविधि र मापदण्ड पूरा गर्नुपर्ने भएकाले अर्को पम्प सञ्चालनमा आउन पनि समय लाग्न सक्ने उहाँ बताउनुहुन्छ। यसले चौतारा र आसपासका बासिन्दाले अझै लामो समयसम्म इन्धन अभाव झेल्नुपर्ने हो कि भन्ने चिन्ता बढाएको छ।
दसैँजस्तो महत्वपूर्ण चाडको मुखमा खाना पकाउने ग्यासका लागि डिलर धाउनुपर्ने र पेट्रोल भर्न दर्जनौँ किलोमिटर टाढा पुग्नुपर्ने अवस्था नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको समस्या हो। एकातिर आपूर्ति सहज भएको सरकारी दाबी छ भने अर्कातिर उपभोक्ता ग्यास र इन्धन खोज्दै भौँतारिन बाध्य छन्।
त्यसैले ग्यास आपूर्तिमा देखिएको अवरोधको कारण पहिचान गरी पर्याप्त परिमाणमा ग्यास उपलब्ध गराउने, वितरण प्रणाली पारदर्शी बनाउने तथा कृत्रिम अभाव र कालोबजारी रोक्ने व्यवस्था गर्न आवश्यक छ। त्यस्तै, चौतारामा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि बन्द पेट्रोल पम्प पुनः सञ्चालन गर्ने सम्भावना खोज्नुका साथै नयाँ पम्प स्थापनाको प्रक्रिया सहजीकरण गर्न सम्बन्धित निकायले पहल गर्नुपर्ने देखिन्छ।

