नागरिकको विश्वास जित्ने गरी कांग्रेसलाई रूपान्तरण गर्छु : सभापति थापा



काठमाडौँ,असोज २४। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

सभापतिमा निर्वाचित भएपछि आज पार्टी केन्द्रीय कार्यालय सानेपामा उपस्थित कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै थापाले आफूले प्राप्त गरेको जिम्मेवारीलाई अधिकार नभई जवाफदेहिताका रूपमा लिएको बताउनुभयो।

“तपाईंहरूले विश्वास गरेर पार्टीको जिम्मेवारी सुम्पिनुभएको छ। यो जिम्मेवारीप्रति कृतज्ञता व्यक्त गर्न आएको हुँ। यो परिवर्तनका लागि गरिएको विश्वास हो। यो विश्वासलाई अधिकार सम्झन्नँ, जिम्मेवारी सम्झन्छु,” उहाँले भन्नुभयो।

विशेष महाधिवेशनपछि भएको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैमा मात्रै पार्टी परिवर्तन नहुने उल्लेख गर्दै थापाले पार्टीको काम गर्ने शैली बदल्नुपर्ने र जिम्मेवारी तथा जवाफदेहिता बढाउनुपर्ने बताउनुभयो।

सभापतिमा प्रतिस्पर्धा गर्नुभएका श्यामकृष्ण खड्गीलाई धन्यवाद दिँदै उहाँले लोकतान्त्रिक अभ्यासले पार्टीलाई जीवन्त बनाउने बताउनुभयो। प्रतिस्पर्धामा रहेका खड्गीसहित सबैलाई साथमा लिएर अघि बढ्ने उहाँको भनाइ थियो।

थापाले नागरिक र कांग्रेसबीचको विश्वास टुटेको उल्लेख गर्दै त्यसलाई पुनःस्थापित गर्न सबै नेता तथा कार्यकर्ता एकजुट हुनुपर्ने बताउनुभयो। किसान, उद्योगी, व्यवसायीदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीसम्मले भरोसा गर्ने पार्टी बनाउने उहाँले प्रतिबद्धता जनाउनुभयो।

महाधिवेशनबाट पारित प्रतिवेदन अध्ययन गर्न एक साताको समय दिइएको जानकारी दिँदै उहाँले सबैको सुझाव प्राप्त भएपछि पहिलो केन्द्रीय कार्यसमिति बैठकबाट कार्ययोजना बनाइने बताउनुभयो।

कांग्रेसले गलत व्यक्तिको पक्षमा नबोल्ने र कसैको अनुचित भार नबोक्ने स्पष्ट पार्दै थापाले कानुन सबैका लागि समान हुनुपर्नेमा जोड दिनुभयो। कसैले गल्ती गरे त्यसको जवाफदेहिता सम्बन्धित व्यक्तिले नै लिनुपर्ने उहाँको भनाइ थियो।

विगतमा व्यक्तिगत फाइदा लिनेहरूको स्वार्थभन्दा माथि उठेर कांग्रेसलाई सामाजिक लोकतन्त्रको मान्यताअनुसार अघि बढाउनुपर्नेमा जोड दिँदै थापाले १५औँ महाधिवेशनबाट प्राप्त जिम्मेवारीलाई व्यवहारमा उतार्ने बताउनुभयो। पार्टीप्रति नागरिकको विश्वास फर्काउने र कामबाटै परिवर्तन प्रमाणित गर्ने आफ्नो लक्ष्य रहेको उहाँले उल्लेख गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्