बेत्रावतीमा बेलिब्रिज निर्माण अन्तिम चरणमा, भोलिदेखि यातायात सञ्चालन हुने
नुवाकोट,असोज २५ । नुवाकोट र रसुवालाई जोड्ने बेत्रावतीमा निर्माण भइरहेको बेलिब्रिज अन्तिम चरणमा पुगेको छ। निर्माण कार्य सम्पन्न गरी भोलि असोज २५ गते दिउँसोदेखि पुल सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको बेलिब्रिज कार्यदलको पहलमा निर्माण भइरहेको पुलबाट भोलि आइतबार दिउँसोदेखि यातायात सञ्चालन गर्ने गरी नेपाली सेना र सडक विभागको प्राविधिक टोली खटिएको छ। सडक विभागको स्काभेटर प्रयोग गरी टोलीले दिनरात काम गरिरहेको बेलिब्रिज कार्यदलका सदस्य हेमबहादुर ढुङ्गेलले जानकारी दिनुभयो।
वर्षाका कारण बेत्रावतीमा आवागमन बन्द हुँदा रसुवाका नागरिकले आवतजावतमा सास्ती भोग्दै आएका थिए। बेलिब्रिज सञ्चालनमा आएपछि नुवाकोट र रसुवाबीचको आवागमन सहज हुने अपेक्षा गरिएको छ।
पुल सञ्चालनमा आएपछि एम्बुलेन्स, विद्यालयका बस तथा खाद्यान्नलगायत अत्यावश्यक सामग्री बोकेका सवारीसाधनलाई आवतजावत गर्न सहज हुनेछ।
बेलिब्रिज निर्माणमा खटिएका नेपाली सेना, सडक विभागको प्राविधिक टोली, स्थानीय प्रशासन तथा सहयोग गर्ने सबैलाई कार्यदलका सदस्य ढुङ्गेलले धन्यवाद दिनुभएको छ।

