गलौदीमा सडक भासिएपछि अवरुद्ध पृथ्वी राजमार्ग राति ९ बजेदेखि एकतर्फी सञ्चालन गर्ने तयारी
धादिङ,असोज २४ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी नजिकै गलौदी क्षेत्रमा त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ ।
सडक विभागका अनुसार अवरुद्ध सडक खुलाउन भित्तापट्टिको भाग काटेर सडक विस्तार गर्ने काम तीव्र गतिमा भइरहेको छ । विभागले आज साँझ जारी गरेको सूचनाअनुसार राति ९ बजेदेखि एकतर्फी रूपमा सवारी आवागमन सञ्चालन गर्ने तयारी गरिएको छ ।
त्यस्तै, भोलि बिहान ७ बजेदेखि दुईतर्फी सवारी सञ्चालनका लागि आवश्यक सडक विस्तारको काम सुरु गरिनेछ । मौसम तथा अन्य परिस्थिति अनुकूल रहेमा भोलि साँझ ६ बजेसम्म सडक विस्तारको काम सम्पन्न गरी दुईतर्फी सवारी आवागमन सञ्चालन गर्ने लक्ष्य राखिएको विभागले जनाएको छ ।
सडक खुलाउन आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधन परिचालन गरिएको विभागले जनाएको छ । सडक भासिएका कारण यात्रु तथा सवारी चालकलाई परेको असुविधाप्रति क्षमायाचना गर्दै विभागले सडक पूर्ण रूपमा सञ्चालनमा नआएसम्म अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ ।
साथै, सम्बन्धित निकायबाट जारी हुने सूचनाको पालना गर्न तथा ट्राफिक व्यवस्थापनमा सहयोग गर्न यात्रु र सवारी चालकलाई अनुरोध गरिएको छ ।

