पञ्चकन्या नियमित महाधिवेशन कांग्रेसको सभापतिमा ६ जना आकांक्षी, सहमति जुटाउन कार्यदल गठन



नुवाकोट,असोज २४ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशन पक्षधर समूहले नुवाकोटको पञ्चकन्या गाउँपालिकामा पालिका अधिवेशन सुरु गरेको छ। अधिवेशनमा पालिकास्तरीय नेता तथा प्रतिनिधिहरूको सहभागिता रहेको छ।

पालिका सभापतिका लागि यमबहादुर थापा, राजीव स्याङ्तान, रमणबहादुर सिटौला, गंगाराम लामिछाने, लक्ष्मण खनाल र विकास महत गरी छ जना आकांक्षी देखिएका छन्। सभापतिका आकांक्षीबीच सहमति जुट्न नसकेपछि साझा उम्मेदवार चयन गर्ने प्रयासस्वरूप कार्यदल गठन गरिएको छ।

पालिका संयोजक गंगाराम लामिछानेको संयोजकत्वमा पाँचवटै वडाका सभापति सदस्य रहने गरी गठन गरिएको कार्यदलले आकांक्षीहरूबीच सहमति कायम गराउने प्रयास गर्ने स्थानीय नेता सुसान्त सिटौलाले नुवाकोट पुकारलाई जानकारी दिएका छन्।

कांग्रेसको संस्थापनइतर समूह अर्थात् देउवा समूहले स्थानीय तहमा वडा अधिवेशन सम्पन्न गरेपछि पालिका अधिवेशन सुरु गरेको हो। अधिवेशनमा नेता तथा प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको आयोजक पक्षले दाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस्