नेपालगन्जमा आजदेखि १५९औँ रामलीला महामहोत्सव सुरु हुँदै
नेपालगन्ज,असोज २४— नेपालगन्जको ऐतिहासिक तथा सांस्कृतिक पहिचानका रूपमा स्थापित रामलीला महामहोत्सवको १५९औँ शृङ्खला आइतबारदेखि सुरु हुँदैछ। रामलीला सञ्चालक समिति, नेपालगन्जले शनिबार पत्रकार सम्मेलन गरी असोज २५ गते घटस्थापनादेखि दस दिनसम्म रामलीला मञ्चन गर्ने तयारी पूरा भएको जनाएको हो।
समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाका अनुसार नेपालगन्जस्थित रामलीला मैदानमा हरेक दिन साँझ ८ बजेदेखि राति १२ बजेसम्म रामलीला मञ्चन गरिनेछ। महामहोत्सवको शुभारम्भ आइतबार दिउँसो २ बजे शोभायात्रासहित गरिनेछ भने राति ८ बजे नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।
रामलीला मञ्चनका लागि मञ्च निर्माण, प्रकाश व्यवस्था, कार्यक्रमस्थलको सरसफाइ तथा कलाकारहरूको बसोबासलगायतका तयारी भइरहेको समितिले जनाएको छ। कलाकारहरूको सुरक्षालाई समेत विशेष प्राथमिकता दिइएको अध्यक्ष कनोडियाले जानकारी दिनुभयो।
महामहोत्सवमा भगवान् श्रीराम र माता सीताको जीवनमा आधारित धार्मिक तथा पौराणिक कथालाई नाटकीय रूपमा प्रस्तुत गरिनेछ। श्रीराम जन्मोत्सव, धनुष यज्ञ, रावण वध, भरत मिलाप र राज्याभिषेकलगायतका प्रसङ्ग यस वर्षको रामलीलाका मुख्य आकर्षण रहनेछन्।
यस वर्ष रामलीला मञ्चनका लागि भारतको वृन्दावनबाट राधारमणको नेतृत्वमा २९ सदस्यीय कलाकार टोली नेपालगन्ज आइपुगेको छ। उक्त टोलीले रामायणका विभिन्न महत्त्वपूर्ण प्रसङ्गलाई जीवन्त रूपमा प्रस्तुत गर्ने समितिले जनाएको छ।
१५८ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको रामलीला महामहोत्सव नेपालगन्जको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोडिएको छ। यसले धार्मिक आस्था अभिवृद्धि गर्नुका साथै कला, संस्कृति र सामाजिक एकताको सन्देश प्रवाह गर्दै आएको छ।
महामहोत्सवलाई भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्न समितिले सञ्चारकर्मी तथा सञ्चारमाध्यमलाई प्रचारप्रसारमा सहयोग गर्न अपिल गरेको छ। कार्यक्रमलाई प्रभावकारी बनाउन सामूहिक सहभागिता र सहकार्य आवश्यक रहेको अध्यक्ष कनोडियाले बताउनुभयो।

