कान्तिलोकपथमा बसको डिक्कीको ढोकाले लागेर पैदलयात्रीको मृत्यु



मकवानपुर,असोज २८ — मकवानपुरगढी गाउँपालिका–२, दुविचौरस्थित कान्तिलोकपथ सडक खण्डमा बसको डिक्कीको ढोकाले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका–२ निवासी ४१ वर्षीय वीरबहादुर स्याङ्तान रहेका छन्। प्रहरीका अनुसार आइतबार दिउँसो करिब ४ बजे बुटवलबाट काठमाडौँतर्फ जाँदै गरेको लु.प्र. ०१–००१ ख ०६६४ नम्बरको बसको साइडको डिक्की खुला रहेको अवस्थामा ढोकाले ठक्कर दिँदा स्याङ्तान घाइते भएका थिए।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–१४ निवासी अन्दाजी ३१ वर्षीय विशाल केसीले चलाएको उक्त बसको डिक्कीको ढोकाले ठक्कर दिएपछि घाइते स्याङ्तानलाई बसका सहचालक तेजकुमार विकले उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याएका थिए।

हेटौँडा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि उनलाई साँझ ६ः३० बजे मकवानपुर सहकारी अस्पताल लगिएको थियो। उपचारकै क्रममा साँझ ७ः५० बजे चिकित्सकले स्याङ्तानलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

घटनापछि बस चालक केसी जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्