भोलिदेखि बडादसैँको नवरात्र सुरु, घटस्थापनाको शुभ साइत बिहान ११:४७ बजे



काठमाडौं,असोज २४ । नेपालीहरूको महान् पर्व बडादसैँको नवरात्र भोलिदेखि सुरु हुँदैछ। नवरात्रको पहिलो दिन घरघरमा जमरा राखेर घटस्थापना गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष घटस्थापनाका लागि बिहान ११ बजेर ४७ मिनेटको साइत उत्तम रहेको छ।

समितिका अनुसार यस वर्ष घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योगसमेत परेकाले घटस्थापना गर्नुअघि तिनको शान्ति गर्नुपर्ने धर्मशास्त्रविद्हरूले बताएका छन्। त्यस्तै, यस वर्ष विजया दशमीको टीका लगाउने उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १० बजेर २६ मिनेटमा रहेको समितिले जनाएको छ।

शरद ऋतुको उल्लाससँगै मनाइने बडादसैँ नेपालीहरूको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व हो। यस अवसरमा नवदुर्गा भवानीको पूजा–आराधना गर्दै शक्ति, समृद्धि, सुख, शान्ति र परिवारको कल्याणको कामना गरिन्छ। नवरात्रको पहिलो दिन पूजाकोठा वा दसैँघरमा विधिपूर्वक कलश स्थापना गरी जौको जमरा राख्ने परम्परा छ।

नवरात्रका नौ दिन दुर्गाका नौ स्वरूपको उपासनामा समर्पित हुन्छन्। यस अवधिमा घरघरमा दुर्गा सप्तशती पाठ, चण्डीपाठ तथा विभिन्न धार्मिक अनुष्ठान गरिन्छन्। दसैँको सातौँ दिन फूलपाती, आठौँ दिन महाअष्टमी र नवौँ दिन महानवमी मनाइन्छ। दशौँ दिन विजया दशमीका अवसरमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ।

धार्मिक मान्यताअनुसार विजया दशमीका दिन देवी दुर्गाले दानवी शक्तिमाथि विजय प्राप्त गरेको स्मरण गरिन्छ। भगवान् रामले रावणमाथि विजय हासिल गरेको प्रसङ्ग पनि यस पर्वसँग जोडिएको छ। त्यसैले दसैँलाई असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा लिइन्छ।

दसैँका अवसरमा परिवार तथा आफन्तजन एकै ठाउँमा भेला हुने, मान्यजनबाट आशीर्वाद लिने, नयाँ लुगा लगाउने र मीठोमसिनो खाने चलन छ। रोजगारी, अध्ययन तथा अन्य कामका सिलसिलामा घरबाहिर रहेका नेपालीहरू पनि दसैँ मनाउन घर फर्किने भएकाले यस पर्वले पारिवारिक पुनर्मिलनको अवसर प्रदान गर्छ।

दसैँको अवधिमा देशभरका शक्तिपीठ तथा दुर्गा मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ। काठमाडौँ उपत्यकासहित विभिन्न स्थानमा दुर्गा भवानीको पूजा–आराधना, धार्मिक पाठ तथा विविध कार्यक्रम आयोजना गरिन्छन्। धार्मिक आस्था, पारिवारिक एकता र सांस्कृतिक परम्परासँग जोडिएको बडादसैँले नेपाली समाजमा आपसी सद्भाव, मेलमिलाप र एकताको सन्देश दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्