टोखाको झोर महाँकाल माध्यमिक विद्यालयमा तामाङ भाषा पढाइ सुरु
काठमाडौं,असोज २४ । टोखा नगरपालिका–१, झोरस्थित महाँकाल माध्यमिक विद्यालयमा तामाङ भाषा पठनपाठन सुरु गरिएको छ। तामाङ भाषा, लिपि, संस्कार र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा मातृभाषाप्रतिको रुचि बढाउने उद्देश्यले शुक्रबारदेखि विद्यालयमा भाषा शिक्षणको शुभारम्भ गरिएको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश्वर अधिकारीको अध्यक्षता तथा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा मातृभाषा संरक्षणको महत्त्वबारे चर्चा गरिएको थियो। कार्यक्रममा नगर उपप्रमुख मुरारी तामाङ, जनप्रतिनिधि, नेपाल तामाङ घेदुङका पदाधिकारी, शिक्षक, अभिभावक तथा विद्यार्थीको सहभागिता थियो।
कार्यक्रममा नगरप्रमुख अधिकारीले भाषा, संस्कार र संस्कृति हरेक समुदायका अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै मातृभाषाको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताए। उपप्रमुख मुरारी तामाङले नयाँ पुस्ताले मातृभाषा बोल्न छाड्दै जानु चिन्ताको विषय भएको बताउँदै विद्यालयमा तामाङ भाषा पढाइ सुरु हुनु संरक्षणको महत्त्वपूर्ण पहल भएको धारणा व्यक्त गरे।
नेपाल तामाङ घेदुङका संघीय उपमहासचिव एवं भाषा समन्वय प्रमुख बिलाम मुक्तानले मातृभाषा शिक्षालाई घरपरिवार र समुदायसँग जोडेर अघि बढाउनुपर्ने बताए। भाषा सिकाउनु शब्द र वाक्य सिकाउनु मात्र नभई समुदायको पहिचान, इतिहास, संस्कार र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्नु पनि भएको उनको भनाइ थियो।
विद्यालयमा तामाङ भाषा शिक्षिकाका रूपमा कार्यरत शान्त तामाङले मातृभाषा बोल्न छाड्नु आफ्नै संस्कार र संस्कृति बिर्सनुसरह भएको बताइन्। नयाँ पुस्तालाई आफ्नै भाषामा बोल्न, पढ्न र लेख्न सक्षम बनाउने उद्देश्यले आफू भाषा शिक्षणमा लागेको उनले उल्लेख गरिन्।
यसैबीच, टोखा नगरपालिका–७ को सौजन्यमा कार्यक्रममा विद्यार्थीलाई विद्यालय झोलासमेत वितरण गरिएको थियो। मातृभाषामा पठनपाठनले बालबालिकालाई आफ्नो मौलिक पहिचान र सांस्कृतिक सम्पदाबारे जानकारी दिनुका साथै समुदायसँगको सम्बन्ध बलियो बनाउने अपेक्षा गरिएको छ।
विद्यालयमा तामाङ भाषा शिक्षण सुरु भएसँगै मातृभाषा संरक्षणको नयाँ पहल अघि बढेको छ। यसको प्रभावकारिता र निरन्तरताका लागि स्थानीय तह, विद्यालय, शिक्षक, अभिभावक तथा नेपाल तामाङ घेदुङबीच सहकार्य आवश्यक रहेको सहभागीहरूले बताएका छन्।

