मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु, तीन जना घाइते



बारा,असोज २४। बाराको सिम्रौनगढमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

सिम्रौनगढ नगरपालिका–९, बसवरियास्थित नहर सडकखण्डमा सिम्रौनगढबाट कचोर्वातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकलले सोही दिशातर्फ गइरहेको साइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा साइकलको पछाडि सवार सिम्रौनगढ नगरपालिका–६ निवासी सबु मोहम्मदकी श्रीमती अन्दाजी ३७ वर्षीया रिजवना खातुनको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएकी खातुनलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा साइकल चालक अन्दाजी ४० वर्षीय सबु मोहम्मद तथा मोटरसाइकल चालक अन्दाजी २५ वर्षीय अजय महतो र मोटरसाइकलमा सवार अन्दाजी २२ वर्षीय विवेक महतो घाइते भएका छन्। तीनै जना सिम्रौनगढ नगरपालिका–६ का बासिन्दा हुन्।

घाइते सबु मोहम्मदको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ। मोटरसाइकल चालक अजय महतो र पछाडि सवार विवेक महतोको अवस्था गम्भीर रहेको जनाइएको छ। उनीहरूलाई कलैया अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगन्जस्थित नारायणी न्युरो अस्पताल पठाइएको छ।

दुर्घटनामा संलग्न मोटरसाइकल र साइकल प्रहरी चौकी कचोर्वाको नियन्त्रणमा रहेका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्