पृथ्वी राजमार्ग खुलाउन नयाँ ट्रयाक निर्माणको काम ६० प्रतिशत पूरा
धादिङ,असोज २४। सडक भासिएर अवरुद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउन नयाँ ट्रयाक खोल्ने काम ६० प्रतिशत पूरा भएको छ। नागढुंगा–नौबिसे–मुग्लिन सडक आयोजनाको पूर्वी खण्डका प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार आइतबार बिहानदेखि नै राजमार्ग सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको छ।
अधिकारीका अनुसार शनिबार बिहानैदेखि ६ वटा एक्साभेटर, २ वटा लोडर र २ वटा ब्याकहो लोडर प्रयोग गरेर सडक निर्माणको काम भइरहेको छ। राजमार्ग छिटो सञ्चालनमा ल्याउन रातिसमेत बत्ती बालेर अबेरसम्म काम गरिएको उनले बताए।
भासिएको सडकको किनारतर्फ भित्तो काटेर नयाँ ट्रयाक निर्माण भइरहेको छ। करिब १५७ मिटर लम्बाइ, ६ मिटर चौडाइ र १२ मिटर अग्लो भित्तो काट्नुपर्ने भएकाले काम भइरहेको अधिकारीले जानकारी दिए। बाँकी काम आइतबार पूरा गरी राजमार्ग सञ्चालनमा ल्याउने प्रयास भइरहेको उनको भनाइ छ।
भोटेकोसी बाढीका कारण भदौ १४ गते पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएको थियो। त्यसपछि नयाँ ट्रयाक निर्माण गरी असोजदेखि राजमार्ग सञ्चालनमा ल्याइएको थियो। तर, वैकल्पिक मार्गका रूपमा खोलिएको कृष्णभीर क्षेत्रमा वर्षातका बेला पहिरो खस्दा पटकपटक सडक अवरुद्ध हुँदै आएको छ। पृथ्वी राजमार्गकै परेवाभीर, चालिसे र बाङ्गेलगायतका क्षेत्रमा खसेको पहिरोले पनि यात्रुहरूलाई सास्ती दिँदै आएको छ।
६५ भन्दा बढी जिल्लालाई संघीय राजधानीसँग जोड्ने प्रमुख मार्गका रूपमा रहेको पृथ्वी राजमार्ग अवरुद्ध हुँदा हजारौँ यात्रु प्रभावित भएका छन्। दैनिक १३ हजारभन्दा बढी सवारीसाधन गुड्ने यस राजमार्गमा अवरोध हुँदा यात्रुवाहक, मालवाहक तथा अत्यावश्यक सेवाका सवारीसाधन प्रभावित भएका छन्।
राजमार्गको वैकल्पिक मार्ग नहुँदा सडक अवरुद्ध हुनेबित्तिकै यात्रु तथा ढुवानीका साधनले समस्या भोग्नुपरेको छ। वर्षायाममा पहिरो र सडक कटानका कारण पटकपटक यातायात अवरुद्ध हुने समस्याले पृथ्वी राजमार्ग हुँदै यात्रा गर्ने यात्रुहरूले हरेक वर्ष सास्ती खेप्दै आएका छन्।

