भैरहवा हवाईमार्ग दुईतर्फी हुँदा उडान समय र खर्च घट्ने अपेक्षा



काठमाडौँ, मङ्सिर ९ । भारतसँग काठमाडौँ–भैरहवा–लखनउ हवाईमार्ग (बी ३४५) दुईतर्फी सञ्चालन गर्ने सहमतिले नेपालको अन्तर्राष्ट्रिय हवाई उडान सहज हुनुका साथै समय र खर्च घट्ने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीमा भएको द्विपक्षीय वार्तापछि उक्त हवाईमार्ग दुईतर्फी सञ्चालन गर्ने सहमति भएको हो ।

सहमतिअनुसार पश्चिमी मुलुकबाट नेपाल आउने जहाजले भैरहवा हुँदै सिधै नेपाल प्रवेश गर्न पाउनेछन् । यसबाट हाल सिमरा पुगेर घुमाउरो बाटो हुँदै आउनुपर्ने बाध्यता हट्नेछ ।

उड्डयन क्षेत्रका जानकारका अनुसार नयाँ मार्गबाट भैरहवा विमानस्थलमा अवतरण गर्दा करिब १७ मिनेट र पोखरा विमानस्थलमा अवतरण गर्दा १४ मिनेट उडान समय बचत हुनेछ । यसले इन्धन खपत, सञ्चालन तथा मर्मतसम्भार खर्च घटाउनुका साथै हवाई टिकटको मूल्यमा समेत सकारात्मक प्रभाव पार्न सक्नेछ ।

यस सहमतिबाट भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तार गर्न तथा लुम्बिनीमा आउने विदेशी पर्यटकलाई सहज आवागमनको अवसर मिल्ने अपेक्षा गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सहमति कार्यान्वयनका लागि दुवै देशबीच उडान उचाइ, हवाई ट्राफिक व्यवस्थापन, सुरक्षा मापदण्ड र प्राविधिक प्रक्रियालाई अन्तिम रूप दिन बाँकी छ । त्यसपछि नयाँ हवाई प्रवेश मार्ग औपचारिक रूपमा सञ्चालनमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्