प्रधानमन्त्री शाहको भारत भ्रमणलाई भारतीय सञ्चारमाध्यमले दिए उच्च प्राथमिकता



काठमाडौँ, मङ्सिर ९ । प्रधानमन्त्री वालेन्द्र शाहको पहिलो राजकीय विदेश भ्रमणका रूपमा रहेको भारत भ्रमणलाई भारतीय सञ्चारमाध्यमले उच्च प्राथमिकता दिएका छन् ।

भारतका प्रमुख सञ्चारमाध्यमले भ्रमणलाई नेपाल–भारत सम्बन्धमा नयाँ अध्यायको सुरुवात र विगतको कूटनीतिक चिसोपना अन्त्य गर्ने प्रयासका रूपमा व्याख्या गरेका छन् ।

‘टाइम्स अफ इन्डिया’, ‘हिन्दुस्तान टाइम्स’, ‘द हिन्दु’ र ‘इन्डियन एक्सप्रेस’ लगायतका सञ्चारमाध्यमले द्विपक्षीय वार्ता, विकास सहायता, हवाईमार्ग विस्तार, रेल सेवा उद्घाटन तथा विभिन्न समझदारीपत्रमा भएको हस्ताक्षरलाई मुख्य उपलब्धिका रूपमा प्रस्तुत गरेका छन् ।

भारतीय सञ्चारमाध्यमले भारतले नेपालका लागि घोषणा गरेको विकास प्याकेज, काठमाडौँ–भैरहवा–लखनउ हवाईमार्गलाई दुईतर्फी बनाउने सहमति र अयोध्या–जनकपुरधाम रेल सेवा उद्घाटनलाई विशेष महत्व दिएका छन् ।

प्रधानमन्त्री शाहले करिब २४ देखि २५ घण्टा नयाँ दिल्लीमा रहेर कामकाजी बैठकमा केन्द्रित भएको विषयलाई पनि भारतीय सञ्चारमाध्यमले ठोस नतिजामुखी कूटनीतिक शैलीका रूपमा चर्चा गरेका छन् ।

समग्रमा भ्रमणलाई दुई देशबीच विश्वास पुनर्निर्माण, आर्थिक तथा ऊर्जा सहकार्य विस्तार र द्विपक्षीय सम्बन्धलाई नयाँ गति दिने प्रयासका रूपमा भारतीय सञ्चारमाध्यमले चित्रण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्