कन्याममा घोडचढी व्यवसायले बढायो पर्यटकको आकर्षण



इलाम, मङ्सिर ९ । इलामको प्रमुख पर्यटकीय गन्तव्य कन्याममा घोडचढी व्यवसाय पर्यटकको थप आकर्षण बनेको छ । चियाबारीको मनमोहक दृश्यसँगै घोडामा सवार भएर प्राकृतिक सौन्दर्य अवलोकन गर्न पाउँदा आन्तरिक तथा बाह्य पर्यटक रमाउने गरेका छन् ।

कन्याम घोडचढी व्यवसायी सङ्घका अनुसार हाल यहाँ तीन दर्जनभन्दा बढी घोडा सञ्चालनमा छन् । व्यवसायीले पालो मिलाएर पर्यटकलाई सेवा दिँदै आएका छन् । यसबाट एक व्यवसायीले दैनिक दुई हजार रुपियाँभन्दा बढी आम्दानी गर्ने गरेका छन् ।

घोडामा चढेर फोटो खिचाउँदा ५० देखि एक सय रुपियाँसम्म र घुम्नका लागि प्याकेजअनुसार तीन सयदेखि तीन हजार रुपियाँसम्म शुल्क निर्धारण गरिएको छ ।

घोडचढी व्यवसायले पर्यटकलाई नयाँ अनुभव दिनुका साथै स्थानीय रोजगारी र आम्दानीको अवसरसमेत सिर्जना गरेको छ । लोप हुँदै गएको परम्परागत घोडचढीलाई व्यावसायिक रूप दिएपछि कन्यामको पर्यटन प्रवर्धनमा थप सहयोग पुगेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्