सूर्यविनायक नगरस्तरीय धिमेबाजा प्रतियोगिताको उपाधि नासः धिमे खलःलाई
भक्तपुर,असोज २५। सूर्यविनायक नगरपालिका–१ सिरुटारस्थित नासः धिमे खलःले सूर्यविनायक नगरस्तरीय धिमेबाजा प्रतियोगिता–२०८३ को उपाधि जितेको छ। विजेता बनेसँगै टोलीले नगद ७५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ।
शनिबार सूर्यविनायक गणेश मन्दिर परिसरमा सूर्यविनायक नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा नगरभित्रका १३ वटा धिमेबाजा टोली सहभागी भएका थिए। प्रतियोगितामा सूर्यविनायक–१ कै लुनिभा धिमेबाजा खलः दोस्रो हुँदै नगद ५० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भयो।
त्यसैगरी सूर्यविनायक नगरपालिका–१० को सिमलटार बाजा खलःले तेस्रो स्थान हासिल गर्दै नगद २५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ।
प्रतियोगितामा सहभागी सबै टोलीलाई नगरपालिकाले जनही पाँच हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरेको थियो। साथै नगर प्रमुख वासुदेव थापाले व्यक्तिगत तर्फबाट सहभागी १० वटा टोलीलाई थप जनही पाँच हजार रुपैयाँ प्रदान गर्ने घोषणा गर्नुभएको छ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले उद्घाटन गर्नुभएको प्रतियोगिताको समापन समारोहमा नगर प्रमुख वासुदेव थापाले विजयी टोलीलाई पुरस्कार वितरण गर्नुभएको थियो।

