स्थानीय तह निर्वाचन लक्षित गर्दै नुवाकोटमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान



नुवाकोट,असोज २५। आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नुवाकोटमा ‘हामी आउँदैछौँ’ भन्ने एकहप्ते अभियान सञ्चालन गरिरहेको छ। पार्टी संगठन विस्तार, जनसम्पर्क वृद्धि तथा स्थानीय नागरिकका समस्या पहिचान गर्ने उद्देश्यले अभियानलाई तीव्रता दिइएको रास्वपाले जनाएको छ।

अभियानअन्तर्गत शनिबार विदुर नगरपालिका र बेलकोटगढी नगरपालिकामा कार्यक्रम आयोजना गरिएको थियो। पार्टीका नेता तथा सांसद डा. राजुनाथ पाण्डेको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा पार्टी संगठनलाई सुदृढ बनाउने, सामाजिक क्षेत्रसँग समन्वय तथा सहकार्य बढाउने र आगामी दिनमा पार्टीका गतिविधिलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको जनाइएको छ। साथै, विभिन्न समस्याबाट प्रभावित नुवाकोटको पुनरुत्थान, स्थानीय नागरिकका समस्या समाधान तथा जिल्लाको विकास र समृद्धिका लागि एकजुट भएर अघि बढ्नुपर्ने विषयमा पनि विचारविमर्श भएको थियो।

रास्वपा नुवाकोटका जिल्ला सभापति रामेश्वर गजुरेलका अनुसार आगामी स्थानीय तह निर्वाचनलाई ध्यानमा राख्दै संगठन विस्तार गर्ने, जनतासँगको सम्बन्ध बलियो बनाउने र उनीहरूका वास्तविक समस्या पहिचान गरी समाधानका लागि पहल गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।

गजुरेलले आगामी दिनमा जिल्लाका विभिन्न गाउँ तथा बस्तीमा पुगेर स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गरिने जानकारी दिए। नागरिकका गुनासा, आवश्यकता र अपेक्षा बुझ्दै स्थानीय तहमा देखिएका समस्यालाई सम्बोधन गर्न जनसम्पर्क अभियानलाई निरन्तरता दिइने उनको भनाइ छ।

‘हामी आउँदैछौँ, तपाईंको गाउँमा’ भन्ने सन्देशसहित रास्वपाले जिल्लाका विभिन्न स्थानीय तहमा पुगेर जनसंवाद, संगठन विस्तार र स्थानीय समस्याको पहिचानलाई अभियानका रूपमा अघि बढाउने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्