आजदेखि बडादसैँको नवरात्र सुरु, घटस्थापनाको शुभ साइत बिहान ११:४७ बजे
काठमाडौं,असोज २५ । नेपालीहरूको महान् पर्व बडादसैँको नवरात्र आजदेखि प्रारम्भ हुँदैछ। नवरात्रको पहिलो दिन आज घरघरमा जमरा राखेर विधिपूर्वक घटस्थापना गरिँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष घटस्थापनाका लागि बिहान ११ बजेर ४७ मिनेटको साइत शुभ रहेको छ।
समितिका अनुसार यस वर्ष घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योगसमेत परेकाले घटस्थापना गर्नुअघि तिनको शान्ति गर्नुपर्ने धर्मशास्त्रविद्हरूले बताएका छन्। त्यस्तै, यस वर्षको विजया दशमीमा टीका लगाउने उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १० बजेर २६ मिनेटमा रहेको समितिले जनाएको छ।
नवरात्रको पहिलो दिन पूजाकोठा वा दसैँघरमा विधिपूर्वक कलश स्थापना गरी देवी दुर्गाको आह्वान र पूजा गरिन्छ। यसै दिन जौ रोपेर जमरा राख्ने परम्परा छ। नवरात्रका नौ दिनसम्म नवदुर्गाका विभिन्न स्वरूपको पूजा–आराधना गर्दै दुर्गा सप्तशती पाठ, चण्डीपाठ तथा अन्य धार्मिक अनुष्ठान गरिन्छन्।
बडादसैँको सातौँ दिन फूलपाती, आठौँ दिन महाअष्टमी र नवौँ दिन महानवमी मनाइन्छ। दसैँको दसौँ दिन अर्थात् विजया दशमीमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ। धार्मिक मान्यताअनुसार देवी दुर्गाले दानवी शक्तिमाथि विजय प्राप्त गरेको र भगवान् रामले रावणमाथि विजय हासिल गरेको प्रसङ्गसँग विजया दशमी जोडिएको छ।
शरद ऋतुमा मनाइने बडादसैँ नेपालीहरूको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व हो। यस अवसरमा नवदुर्गा भवानीको पूजा–आराधना गर्दै शक्ति, समृद्धि, सुख, शान्ति र परिवारको कल्याणको कामना गरिन्छ। दसैँलाई असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा पनि लिने गरिन्छ।
दसैँका अवसरमा परिवार तथा आफन्तजन एकै ठाउँमा भेला हुने, नयाँ लुगा लगाउने, मीठोमसिनो खाने र मान्यजनबाट आशीर्वाद लिने परम्परा छ। रोजगारी, अध्ययन तथा विभिन्न कामका सिलसिलामा घरबाहिर रहेका नेपालीहरू पर्व मनाउन घर फर्किने भएकाले दसैँले पारिवारिक पुनर्मिलनको अवसरसमेत प्रदान गर्छ।
यस अवधिमा काठमाडौँ उपत्यकासहित देशभरका विभिन्न शक्तिपीठ तथा दुर्गा मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ। धार्मिक आस्था, पारिवारिक एकता र सांस्कृतिक परम्परासँग जोडिएको बडादसैँले नेपाली समाजमा आपसी सद्भाव, मेलमिलाप र एकताको सन्देश दिँदै आएको छ।

