बाढी प्रभावित बेलकोटगढीका १०० परिवारलाई हितबहादुर तामाङद्वारा राहत वितरण



नुवाकोट,असोज २५ । नेकपाका नेता तथा पूर्वसांसद हितबहादुर तामाङले भोटेकोसी–त्रिशूली बाढीबाट प्रभावित परिवारलाई राहत वितरण गर्नुभएको छ। शनिबार बेलकोटगढी नगरपालिका–७ का बाढी प्रभावित १०० परिवारलाई भान्सामा प्रयोग हुने सामग्रीसहितको राहत प्याकेज वितरण गरिएको हो।

राहत प्याकेजमा विद्युतीय चुलो, पानी फिल्टर, प्रेसर कुकर, कराई, र्‍याक, थाल, कचौरा र गिलासलगायत ११ प्रकारका सामग्री समावेश छन्। बाढीबाट प्रभावित परिवारलाई दैनिक जीवनयापन सहज बनाउन किचन सेट वितरण गरिएको जनाइएको छ।

राहत वितरणमा सहयोग गर्ने नेपाली जनप्रगतिशील मञ्च जापान, नेकपा बागमती प्रदेश सम्पर्क समिति, निशिओ आर्किटेक्चरल डिजाइन अफिस कम्पनी लिमिटेड तथा नेकपाका युवा नेता एवं बागमती प्रदेश समिति सदस्य निरज लामालगायतलाई नेता तामाङले धन्यवाद व्यक्त गर्नुभयो ।

बाढी प्रभावित परिवारलाई राहत सामग्री लिएर निरन्तर पीडितको घरआँगनमा पुगिरहेको उल्लेख गर्दै तामाङले विपद्का बेला प्रभावित नागरिकसँग ऐक्यबद्धता जनाउने र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्