एमालेद्वारा १३ जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन, मङ्सिरमा राष्ट्रिय भेला गर्ने



काठमाडौं,असोज २५ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले विभिन्न जिल्लाका १३ जना नेतालाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शनिबार बसेको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो।

महासचिव शङ्कर पोखरेलद्वारा जारी विज्ञप्तिअनुसार मनोनयन हुनेमा सिर्जना राई (भोजपुर), सावित्रा अर्याल (रुपन्देही), इन्दु कडरिया विष्ट (कञ्चनपुर), सीता पङ्गेनी (नवलपुर), सीता अधिकारी (पाल्पा), डा. पुष्पा केसी भण्डारी (कास्की), धर्मनाथप्रसाद साह (सिरहा), तेजमान कन्दङवा (तेह्रथुम), टङ्क आङ्बोहाङ (ताप्लेजुङ), नवीन रोक्का (रोल्पा), मीनप्रसाद गुरुङ (स्याङ्जा), डबल पाण्डे (दोलखा) र तेजेन्द्र केसी (रुपन्देही) रहेका छन्।

असोज २२ गते सुरु भएर शनिबार सम्पन्न बैठकले आगामी मङ्सिरको पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय पनि गरेको छ। भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, गाउँपालिका तथा नगरपालिका कमिटीका अध्यक्ष र उपाध्यक्षसहित सबै तहका जनप्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ।

बैठकले पार्टीका वडा कमिटीका अधिवेशन आगामी मङ्सिर २६ गते र गाउँपालिका तथा नगरपालिकास्तरीय कमिटीका अधिवेशन पुस ४ गते सम्पन्न गर्ने निर्णय गरेको छ।

बैठकको प्रारम्भमा केन्द्रीय कमिटीको तेस्रो बैठकबाट वरिष्ठ नेतामा मनोनीत हुनुभएकी विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको थियो।

त्यसैगरी, मधेस प्रदेशसभामा एमालेकी सभासद् जैनब खातुनको निधनपछि रिक्त भएको समानुपातिकतर्फको स्थानमा नाजिमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय बैठकले गरेको छ।

जिल्ला अध्यक्ष पद रिक्त रहेका १३ जिल्लामा सम्बन्धित जिल्ला तहकै निर्णयबाट अध्यक्ष तोकी सङ्गठन कमिटीमा रूपान्तरण गर्ने र अनुमोदनका लागि माथिल्लो कमिटीमा पठाउने निर्णयसमेत बैठकले गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्