बूढीगण्डकीमा ठूलो बाढी, नदी किनारका बासिन्दा घर छाडेर भागे



गोरखा,असोज २५ । बूढीगण्डकी नदीमा आइतबार बिहानै ठूलो बाढी आएको छ। नदीमा बाढी आएपछि किनार आसपासका बासिन्दा घर छाडेर सुरक्षित स्थानतर्फ भागेका छन्।

चुमनुब्री गाउँपालिकाकी पूर्वउपाध्यक्ष कुमारी गुरुङका अनुसार बूढीगण्डकीको स्यारखोला क्षेत्रबाट बाढी आएको हो। नदी थुनिने र खुल्ने क्रम चलिरहेको छ। चुमनुब्री गाउँपालिका–३ जगतका गणेश कार्कीका अनुसार समाचार तयार पार्दासम्म नदी फेरि थुनिएको थियो।

नदी किनारका जगत, सल्लेरी, सिर्दिवास, खोर्लावेशी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दालाई माइकिङ तथा फोनमार्फत सुरक्षित स्थानमा सर्न भनिएको प्रहरी निरीक्षक आकास कँडेलले जानकारी दिए।

स्थानीय सेराप गुरुङका अनुसार बिहान साढे ४ बजेतिर ठूलो आवाजसहित बाढी आएपछि लोक्पाका बासिन्दासमेत घर छाडेर भागेका थिए। गणेश कार्कीले नदी तीनपटकसम्म थुनिने र खुल्ने भएको जानकारी दिएका छन्।

नदीमा बाढी आउने तथा थुनिने क्रम जारी रहेकाले नदी किनारका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्