बुढीगण्डकीको बाढीले सल्लेरी बजार बगायो, जगतमा पनि ठूलो क्षति



गोरखा,असोज २५ । बुढीगण्डकी नदीमा आएको भीषण बाढीले गोरखाको सल्लेरी बजार बगाएको छ भने जगत बजारमा समेत ठूलो क्षति पुर्‍याएको छ ।

स्थानीय विशाल घलेका अनुसार बाढीले सल्लेरी बजार बगाउनुका साथै जगत बजारमा पनि ठूलो क्षति गरेको छ । चुमनुब्री गाउँपालिकास्थित छेकम्पारमा सुक्खा पहिरो खसेर नदी थुनिएपछि एक्कासि बाढी आएको हुन सक्ने आशंका गरिएको छ ।

नदीमा पानीको बहाव अत्यधिक बढेपछि नदी किनार तथा आसपासका क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीलाई तत्काल सुरक्षित र उच्च स्थानमा जान आग्रह गरिएको छ ।

चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार आइतबार बिहानै नदीमा ठूलो आवाजसहित पानीको बहाव बढेको थियो । बाढी तल्लो तटीय क्षेत्रतर्फ बढिरहेकाले नदी किनार तथा अन्य जोखिमयुक्त क्षेत्रमा नबस्न र सतर्कता अपनाउन उनले सर्वसाधारणलाई आग्रह गरेकी छन् ।

बाढीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ । नदीको बहाव अझै बढ्न सक्ने जोखिम रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्