बुढीगण्डकीको बाढीले सल्लेरी बजार र जलविद्युत् आयोजनाको क्याम्प बगायो
गोरखा,असोज २५ । बुढीगण्डकी नदीमा आइतबार बिहान आएको भीषण बाढीले गोरखाको सल्लेरी बजार क्षेत्र र जलविद्युत् आयोजनाको क्याम्प बगाएको छ। लेदोसहित आएको बाढीले बजार क्षेत्र तथा आयोजनासँग सम्बन्धित संरचनामा ठूलो क्षति पुर्याएको छ। बाढीले जगत बजारमा समेत क्षति पुर्याउनुका साथै नदी आसपासका घरहरू बगाएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो।
बुढीगण्डकीको स्यारखोलातर्फबाट आएको बाढीले नदी किनारका संरचनामा क्षति पुर्याएपछि तटीय क्षेत्रका बासिन्दामा त्रास फैलिएको छ। नदी थुनिने र खुल्ने क्रम दोहोरिएपछि आसपासका बस्ती थप जोखिममा परेका छन्।
स्थानीय सेराप गुरुङका अनुसार आइतबार बिहान साढे ४ बजेतिर ठूलो आवाजसहित बाढी आएपछि लोक्पासहित नदी आसपासका बासिन्दा ज्यान जोगाउन भागाभाग गरेका थिए।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै जगत, सल्लेरी, सिर्दिवास, खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। जिल्ला प्रशासन कार्यालयले पनि नदी किनारका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रह गरेको छ।
बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण संकलन हुन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो। उहाँका अनुसार हेलिकप्टरबाट घटनास्थलको निरीक्षण गरी क्षतिको यकिन विवरण संकलन गर्ने तथा विपद्मा परेकाहरूको उद्धार र राहतको व्यवस्था मिलाइनेछ।
गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार घटनाबारे थप विवरण संकलन भइरहेको छ। क्षतिको वास्तविक अवस्था र प्रभावित क्षेत्रको विवरण प्राप्त भएपछि सार्वजनिक गरिने उहाँले बताउनुभयो। घटनाको व्यवस्थापन तथा आवश्यक कदम चाल्न जिल्ला विपद् व्यवस्थापन समितिको बैठकसमेत बसिरहेको छ।

