बुढीगण्डकीमा बाढीको जोखिम बढेपछि आरुघाट बजार खाली गराइँदै
गोरखा,असोज २५ । बुढीगण्डकी नदीमा आएको बाढीको जोखिम बढेपछि गोरखा र धादिङ जिल्लाको सीमाक्षेत्रमा रहेको आरुघाट बजार खाली गराउन थालिएको छ। बाढीको जोखिम बढेसँगै स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ सर्न थालेका छन्।
स्थानीय व्यवसायी धर्मेन्द्र श्रेष्ठका अनुसार प्रशासनले सतर्क रहन आग्रह गरेपछि आरुघाट बजारका बासिन्दा उच्च स्थानतर्फ जान थालेका हुन्। नदीको जलसतह बढ्दै गएपछि बजार क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने क्रम सुरु भएको उहाँले बताउनुभयो।
गोरखा र धादिङ जिल्लाको भूभागमा फैलिएको आरुघाट बजार बुढीगण्डकी नदीको किनारमा अवस्थित छ। यो बजार १२०० मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रसमेत हो।
बाढी पूर्वानुमान महाशाखाका अनुसार बुढीगण्डकी नदीको जलसतहले खतरा तह पार गरेको छ। जलसतह अझै बढ्दो क्रममा रहेकाले बाढीको जोखिम कायम रहेको महाशाखाले जनाएको छ।
महाशाखाले बाढीको बहाव नघटेसम्म त्रिशूली दोभानसम्मका नदी किनार तथा आसपासका क्षेत्रमा नजान र सुरक्षित उच्च स्थानमा बस्न आग्रह गरेको छ।

