बूढीगण्डकी बाढीपछि जगतबाट ६ जनाको हवाई उद्धार



गोरखा,असोज २५ । बूढीगण्डकी नदीमा आएको बाढीपछि पहिरोको जोखिममा रहेको गोरखाको जगत क्षेत्रबाट ६ जनाको हवाई उद्धार गरिएको छ।

नेपाली सेनाका अनुसार बाढीपछिको खोज तथा उद्धार कार्यका लागि सेनाको फौज हवाई तथा स्थलमार्गबाट परिचालन गरिएको छ। जोखिममा रहेको जगत क्षेत्रबाट ६ जनालाई हवाई साधनमार्फत सुरक्षित स्थानमा उद्धार गरिएको सेनाले जनाएको छ।

उद्धार कार्यलाई थप प्रभावकारी बनाउन काठमाडौँमा रहेको संयुक्त द्रुत प्रतिकार्य टोलीसमेत हवाई साधनमार्फत उक्त क्षेत्रमा तैनाथ गरिएको नेपाली सेनाले जनाएको छ।

बूढीगण्डकी नदीमा आएको बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै खोज तथा उद्धार कार्य जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्