बूढीगण्डकीको बाढीले गोरखामा ठूलो क्षति, पाँच गोठाला बेपत्ता, सयभन्दा बढी चौँरी बगायो



गोरखा,असोज २५ । बूढीगण्डकी नदीमा आएको भीषण बाढीले गोरखाको उत्तरी तथा तटीय क्षेत्रमा ठूलो मानवीय, पशुधन र भौतिक क्षति पुर्‍याएको छ। बाढीले बस्ती, सडक, पुल, जलविद्युत् आयोजना र गोठहरू बगाउँदा प्रभावित क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ।

चुमनुब्री गाउँपालिका–६ स्थित सेयरखोला क्षेत्रमा बूढीगण्डकीको बाढी पस्दा पाँच जना गोठाला बेपत्ता भएका छन्। स्थानीयका सयभन्दा बढी चौँरीगाईसमेत बाढीले बगाएको छ। बेपत्ता गोठालाको खोजी कार्य तीव्र पारिएको छ।

बाढीले आरुघाट गाउँपालिका–२ र ३ (मान्वु) जोड्ने सोतीस्थित फलामे मोटरेबल पक्की पुल पूर्ण रूपमा बगाएको छ। त्यसैगरी, आरुघाट गाउँपालिका–९ स्थित नयाँपुलको तीन भागमध्ये गोरखातर्फको एउटा भाग बगाएपछि गोरखा–धादिङ जोड्ने मुख्य सडकको यातायात सेवा ठप्प भएको छ।

यस्तै, धार्चे गाउँपालिका–५ को माछीखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल र चुमनुब्री गाउँपालिका–३ न्याक्चेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुलसमेत बाढीले ढालेको छ। पुलहरूमा क्षति पुगेपछि स्थानीयको आवतजावतमा समस्या भएको छ।

बाढीले धार्चे गाउँपालिका–३ सल्लेरीमा निर्माणाधीन सहज ऊर्जा जलविद्युत् आयोजनाको पावरहाउस र आसपासका सातदेखि आठवटा घर बगाएको छ। धार्चे गाउँपालिका–५ माछीखोलाको तल्लो बस्तीमा बाढी पस्दा पाँचदेखि सातवटा घर र पाँचदेखि सातवटा टहरा क्षतिग्रस्त भएका छन्।

यसैगरी, चुमनुब्री गाउँपालिका–३ सल्लेरीका २० देखि २२ वटा घर बाढी र नदी कटानको उच्च जोखिममा परेका छन्। नदीको बहाव तीव्र रहेकाले थप क्षति हुन सक्ने जोखिम कायमै छ।

बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरसहित सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षाकर्मीले उद्धार कार्यसँगै बाढीपहिरो प्रभावित क्षेत्रको अनुगमन गरिरहेका छन्। नदीमा पानीको बहाव अझै उच्च रहेकाले स्थानीय प्रशासनले बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र जोखिमयुक्त स्थानबाट सुरक्षित ठाउँमा जान आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्