कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी विजयी, महामन्त्रीमा पौडेल र राणा
ललितपुर,असोज २६ । नेपाली कांग्रेसको खुलातर्फको उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र मधु आचार्य विजयी हुनुभएको छ । समावेशी उपसभापतिमा विनोदकुमार चौधरी निर्वाचित हुनुभएको छ ।
खुलातर्फको उपसभापति प्रतिस्पर्धामा डा. भण्डारीले तीन हजार ७३५ मत प्राप्त गर्नुभयो भने आचार्यले दुई हजार ३४२ मत प्राप्त गर्नुभयो । अन्य उम्मेदवारमध्ये गोविन्द भट्टराईले एक हजार ७५२, सुरेन्द्रराज पाण्डेले एक हजार ६७३, धनराज गुरुङले एक हजार ५९६, दीपक गिरीले ९२३ र प्रा. डा. चन्द्रमोहन यादवले ७६० मत प्राप्त गर्नुभयो ।
समावेशी उपसभापतिमा विजयी चौधरीले एक हजार ७४५ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी जीवन परियारले एक हजार ६५८, फरमुल्लाह मन्सुरले एक हजार १४४, सीता गुरुङले एक हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गर्नुभयो ।
यसैगरी, महामन्त्रीमा प्रदीप पौडेल र उदयशमशेर राणा विजयी हुनुभएको छ । पौडेलले चार हजार १९४ मत प्राप्त गर्दा राणाले दुई हजार ३३० मत प्राप्त गर्नुभयो । महामन्त्रीका अन्य उम्मेदवारमध्ये डा. सुनिलकुमार शर्माले दुई हजार २५७, गुरुराज घिमिरेले एक हजार ५१३, नैनसिंह महरले एक हजार १३४, अमरसिंह पुन मगरले एक हजार १२५, शङ्कर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत प्राप्त गर्नुभयो ।
महिला महामन्त्रीमा डा. डिला सङ्ग्रौला (पन्त) विजयी हुनुभएको छ । उहाँले तीन हजार ११८ मत प्राप्त गर्नुभयो । प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना)ले दुई हजार ८६४ र रीता खनालले ८०४ मत प्राप्त गर्नुभएको निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिनुभयो ।

