लोकन्थलीमा ८४ लाखभन्दा बढीको धनमाल चोरी, नुवाकोटका जितबहादुरसहित पाँच जना पक्राउ
भक्तपुर,असोज २६। भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित एक घरबाट ८४ लाख ७६ हजार ७०० रुपैयाँ बराबरको धनमाल चोरी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
गत असोज १८ गते बिहान १० बजेर ७ मिनेटमा घरमा कोही नभएको मौका छोपी चोरी भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले असोज २४ गते काठमाडौँका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धादिङको धुनिबेसी नगरपालिका–१ छात्रेदेउराली घर भई काठमाडौँ महानगरपालिका–२२ न्युरोड बस्ने २८ वर्षीय राजन स्याङ्बो (सिजल तामाङ), दोलखाको भीमेश्वर नगरपालिका–७ मकैबारी घर भई काठमाडौँ महानगरपालिका–२३ झोसे बस्ने २७ वर्षीया रिया कार्की, सुनसरीको इटहरी उपमहानगरपालिका–१६ एकम्बा घर भई काठमाडौँको नागार्जुन नगरपालिका–३ बस्ने ३३ वर्षीय प्रकाश कडुवाल रहेका छन्।
त्यस्तै, काठमाडौँ महानगरपालिका–१३ ताहाचल बस्ने ३७ वर्षीय रोमन श्रेष्ठ र नुवाकोटको विदुर नगरपालिका–१२ चारघरे घर भई काठमाडौँ महानगरपालिका–१६ माछापोखरी बस्ने ४५ वर्षीय जितबहादुर विश्वकर्मा पनि पक्राउ परेका छन्।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट चोरी भएको सुनको तिलहरी एक थान, सिक्री एक थान, बाला एक थान, औँठी चार थान, झुम्का एक जोर, गणेशको लकेट एक थान र सुनको टुक्रा एक थान बरामद गरेको जनाएको छ। बरामद सुनका गरगहनाको कुल तौल छ तोला ८९ लाल रहेको छ।
त्यसैगरी, डेल कम्पनीको ल्यापटप एक थान, विभिन्न कम्पनीका मोबाइल तीन थान, चाँदीका औँठी दुई थान, फलामको औजार एक थान र नगद दुई लाख ७० हजार रुपैयाँसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि प्रहरी वृत्त ठिमी, भक्तपुर पठाइएको प्रहरीले जनाएको छ।

