बूढीगण्डकी बाढी प्रभावित क्षेत्रमा रेडक्रसको प्रतिकार्य तीव्र, राहत सामग्री पठाइयो



काठमाडौँ,असोज २६ । बूढीगण्डकी नदीमा गएको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाल रेडक्रस सोसाइटीले उद्धार, राहत तथा मानवीय सहायताका कार्यलाई तीव्रता दिएको छ। बाढीबाट पाँच जना सम्पर्कविहीन भएका छन् भने दर्जनौँ घर तथा भौतिक संरचनामा क्षति पुगेको छ।

आइतबार बिहान गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित चुम्लिङ नजिकै उङ्गिलुङ खोलाबाट गेग्रानसहितको बहाव आई स्यारखोला थुनिएको र केही समयपछि फुट्दा बूढीगण्डकी नदीमा आकस्मिक बाढी आएको थियो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक विश्लेषणअनुसार बाढीले दुई पक्की पुल, दुई झोलुङ्गे पुल, तीन जलविद्युत् आयोजना, चार हवनकुण्ड, ४५ घर पूर्ण र २७ घर आंशिक रूपमा क्षति पुर्‍याएको छ। यस्तै, ३४ गोठ र तीन सवारीसाधनमा पनि क्षति पुगेको छ।

बाढी प्रभावित क्षेत्रबाट नेपाली सेनाका चार हेलिकप्टरमार्फत नौ विदेशी नागरिकसहित ८२ जनाको उद्धार गरिएको छ। बाढीको सूचना प्राप्त हुनासाथ नेपाल रेडक्रस सोसाइटीले गोरखा, धादिङ, तनहुँ, चितवन तथा नवलपुरका स्वयंसेवक परिचालन गरी पूर्वसूचना प्रवाह र प्रतिकार्यका काम अघि बढाएको जनाएको छ।

नेपाल रेडक्रस सोसाइटीका महामन्त्री ऋषि खनालले क्षतिको आकलनसँगै प्रभावित क्षेत्रमा तत्काल राहत सामग्री पुर्‍याउने काम भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाली सेनासँगको समन्वयमा आइतबार नै त्रिपाल, म्याट्रेस, कम्बल तथा मर्यादा किटलगायत गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ। अस्पताल सञ्चालन गर्न सकिने दुई ठूला पालसमेत पठाइएको उहाँले बताउनुभयो।

बाढीबाट भएको क्षतिको अध्ययन गर्न विज्ञ जनशक्ति प्रभावित क्षेत्रमा परिचालन गरिएको र सरकारसँगको समन्वयमा थप आवश्यक गैरखाद्य सामग्री पठाउने तयारी भइरहेको महामन्त्री खनालले जानकारी दिनुभयो। प्रभावित क्षेत्रमा मानवीय सहायता पुर्‍याउन रेडक्रसका स्वयंसेवक परिचालित रहेको उहाँको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्