मानसिक स्वास्थ्य सेवा सहज र गुणस्तरीय बनाउने सरकारको प्रतिबद्धता
काठमाडौं,असोज २६ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सेवालाई सुदृढ, गुणस्तरीय, पहुँचयोग्य र सेवाग्राहीमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
विश्व मानसिक स्वास्थ्य दिवस २०२६ का अवसरमा आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आयोजना गरेको कार्यक्रममा उहाँले मानसिक स्वास्थ्यलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।
मन्त्री मेहताले मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका व्यक्तिले उपचार र सहयोग खोज्दा अपमानित वा उपेक्षित महसुस गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गर्नुभयो । प्रत्येक नागरिकले मानसिक स्वास्थ्यसम्बन्धी समस्या खुलेर व्यक्त गर्न सक्ने, समयमै आवश्यक सहयोग पाउने र सम्मानपूर्वक जीवनयापन गर्न सक्ने वातावरण निर्माण गरिने उहाँको भनाइ थियो ।
मानसिक स्वास्थ्य सेवालाई व्यवस्थित बनाउन आवश्यक कानुनी आधार तयार गर्नु सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै मन्त्री मेहताले मानसिक स्वास्थ्यसम्बन्धी अवधारणा पत्र मन्त्रिपरिषद्बाट पारित भइसकेको जानकारी दिनुभयो । उक्त अवधारणाका आधारमा ऐन निर्माणको प्रक्रिया अघि बढाइने उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका व्यक्तिले उपचारका लागि भौँतारिनुपर्ने अवस्थाको अन्त्य गर्दै प्रारम्भिक उपचारदेखि विशेषज्ञ सेवासम्म सहज पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी, एक सय शय्याभन्दा बढी क्षमताका अस्पतालमा मानसिक स्वास्थ्य सेवाका लागि आवश्यक शय्या छुट्याउने र सेवा व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयलाई प्राथमिकताका साथ अघि बढाइने मन्त्री मेहताले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

