कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी
काठमाडौं,असोज २६ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका विभिन्न पदको मतगणना छिटो र व्यवस्थित रूपमा सम्पन्न गर्न केन्द्रीय कार्यालय सानेपामा एकैसाथ २३ स्थानमा मतगणना भइरहेको छ।
सभापतिसहित प्रमुख पदाधिकारीको मतगणना सकिएपछि निर्वाचन समितिले सहमहामन्त्री र विभिन्न समावेशी समूहका केन्द्रीय सदस्य पदको मतगणनालाई तीव्रता दिएको हो।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार धेरै पद र उम्मेदवारका मतपत्र व्यवस्थापन गर्न पद तथा समूहअनुसार छुट्टाछुट्टै टोली बनाएर गणना भइरहेको छ।
खुला सहमहामन्त्री, महिला सहमहामन्त्री र खुला महिला केन्द्रीय सदस्य पदको मतगणना पाँच स्थानमा भइरहेको छ भने विदेशस्थित नेपाली जनसम्पर्क समितितर्फको मतगणनाका लागि सबैभन्दा धेरै नौ स्थानमा टोली परिचालन गरिएको छ।
त्यसैगरी आदिवासी जनजाति सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्य पदको मतगणना तीन स्थानमा भइरहेको छ। सुदूरपश्चिम प्रदेशतर्फका खुला, महिला र ३५ वर्षमुनिका युवा केन्द्रीय सदस्य पदको मतगणना चार स्थानमा जारी छ। पिछडिएको क्षेत्रतर्फका सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्य पदको मतगणना दुई स्थानमा भइरहेको निर्वाचन समितिले जनाएको छ।
२३ स्थानमा एकैसाथ मतगणना भइरहेकाले नतिजा सार्वजनिक गर्ने प्रक्रिया तीव्र बनेको छ। उम्मेदवार तथा उनीहरूका आधिकारिक प्रतिनिधिको उपस्थितिमा कडा सुरक्षा व्यवस्थाबीच शान्तिपूर्ण रूपमा मतगणना भइरहेको समितिले जनाएको छ।
सदस्य सचिव कटुवालका अनुसार बाँकी सबै पदको अन्तिम नतिजा बुधबारसम्म सार्वजनिक गर्ने लक्ष्यसहित मतगणनालाई तीव्रता दिइएको छ।

