मकवानपुरमा ३ हजार ४७२ मतदाताको नामावलीबाट नाम हटाइयो
हेटौँडा,असोज २६ । प्रदेश निर्वाचन कार्यालय हेटौँडाले मकवानपुरका तीन हजार ४७२ जना मतदाताको नाम मतदाता नामावलीबाट हटाएको छ । दोहोरो नाम कायम भएका, मृत्यु भएका र नागरिकता त्यागेका व्यक्तिको नाम छानबिन गरी हटाइएको हो ।
प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार आयोगको प्रणालीमा जाँच गर्दा दोहोरो नाम कायम भएका एक हजार ५०२ जनाको नाम हटाइएको छ । त्यस्तै, सम्बन्धित वडा कार्यालयबाट प्राप्त मृत्यु दर्ताको अभिलेखका आधारमा एक हजार ९६४ जना मृतकको र जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणका आधारमा नागरिकता त्यागेका छ जनाको नाम हटाइएको उहाँले जानकारी दिनुभयो ।
निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार सञ्चालन गरिएको मतदाता नामावली अद्यावधिक अभियानअन्तर्गत जिल्लाको मतदाता नामावली छानबिन गरी नाम हटाइएको हो । दोहोरो नामावली हटाउने कार्य भदौ १५ गतेसम्मको तथ्याङ्कका आधारमा गरिएको ढकालले बताउनुभयो ।
कार्यालयले नाम हटाइएका मतदाताको नाम, ठेगाना र मतदाता परिचयपत्र नम्बरसमेत समावेश गरी विस्तृत विवरण सार्वजनिक गरेको छ । नाम हटाउने निर्णयप्रति कुनै दाबी, विरोध वा जिज्ञासा भए आवश्यक प्रमाणसहित कार्यालय समयमा प्रदेश निर्वाचन कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।
प्रदेश निर्वाचन कार्यालय हेटौँडाले चैतदेखि नियमित रूपमा मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्दै आएको छ । निर्वाचनको मिति घोषणा नभएसम्म नयाँ मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य जारी रहने कार्यालयले जनाएको छ ।

