विद्यार्थी केन्द्रित शिक्षा ऐन ल्याउने मन्त्रालयको प्रतिबद्धता



बुटवल,असोज २६ । शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यार्थीलाई केन्द्रमा राखेर नयाँ शिक्षा ऐन निर्माण गर्ने प्रतिबद्धता जनाएको छ। शिक्षा नीतिलाई व्यवहारिक, समयसापेक्ष र सिर्जनशील बनाउन सरोकारवालाका सुझाव संकलन गर्ने उद्देश्यले मन्त्रालयले ‘शिक्षा संवाद’ कार्यक्रमलाई तीव्रता दिएको हो।

यसअघि मधेश प्रदेशमा संवाद गरेको मन्त्रालयले त्यसकै निरन्तरतास्वरूप सोमबार बुटवलमा ‘शिक्षा संवाद भाग–२ : लुम्बिनी प्रदेश छलफल’ कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा बोल्दै मन्त्रालयका राजनीतिक सल्लाहकार सरोज गौतमले नयाँ शिक्षा ऐनको मुख्य केन्द्र विद्यार्थी हुने बताउनुभयो। उहाँले समयसापेक्ष र व्यावहारिक शिक्षा प्रणाली स्थापना गर्न ऐनमा नवप्रवर्तन तथा सिर्जनशीलतालाई प्राथमिकता दिइने उल्लेख गर्नुभयो।

त्यस्तै, मन्त्रालयका प्रमुख शिक्षा सल्लाहकार शैलेन्द्र झाले शिक्षा सुधारका लागि नीतिगत स्पष्टता र सरोकारवालाको अपनत्व आवश्यक रहेको बताउनुभयो। निजी तथा सार्वजनिक क्षेत्रका व्यावहारिक सुझाव समेटेर सर्वस्वीकार्य शिक्षा ऐन ल्याउने तयारी भइरहेको उहाँको भनाइ थियो।

कार्यक्रममा निजी विद्यालय सञ्चालकका तर्फबाट एनप्याब्सनका अध्यक्ष सुभाष न्यौपाने र प्याब्सनका महासचिव आरबी कटुवालले निजी क्षेत्रका चुनौती तथा योगदानबारे धारणा राख्नुभयो। उहाँहरूले देशको शैक्षिक रूपान्तरण र गुणस्तरीय शिक्षा प्रवाहमा निजी क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्दै नयाँ शिक्षा नीति तथा ऐनले निजी लगानीको संरक्षण र प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो।

छलफलमा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. दिनेशमणि घिमिरे र शिक्षा समन्वय इकाइ बुटवलका प्रमुख विष्णु पन्थीले लुम्बिनी प्रदेशको शैक्षिक अवस्था, समन्वय र आगामी दिनमा अवलम्बन गर्नुपर्ने नीतिबारे धारणा राख्नुभएको थियो।

मन्त्रालयले शिक्षा संवादमार्फत प्राप्त हुने रचनात्मक सुझावलाई नयाँ शिक्षा ऐनमा समेट्दै लैजाने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्