मान्छे मार्ने चितुवा नियन्त्रणमा



बर्दिया,असोज २६ । राजापुर नगरपालिका–३ तिघ्रामा एक जनाको ज्यान लिएको चितुवालाई नियन्त्रणमा लिइएको छ। चितुवाको आक्रमणबाट स्थानीय ४२ वर्षीय मङ्गल थारुको मृत्यु भएपछि डिभिजन वन कार्यालय बर्दियाले राखेको खोरमा गए राति चितुवा परेको हो।

डिभिजन वन कार्यालयका निमित्त प्रमुख एवं वरिष्ठ वन अधिकृत तोलकराज चापागाईंका अनुसार खोरमा चितुवा परेको जानकारी आज बिहान प्राप्त भएपछि उद्धार गरी करिब ९ बजे बर्दिया राष्ट्रिय निकुञ्ज, ठाकुरद्वारामा बुझाइएको हो।

गत बिहीबार मध्यराति राजापुर नगरपालिका–३ चख्खापुरस्थित सडकमा बसिरहेका बेला चितुवाले थारुमाथि आक्रमण गरेको थियो। आक्रमणबाट गम्भीर घाइते भएका थारुलाई उपचारका लागि नेपालगञ्जस्थित शिक्षण अस्पताल लगिएकामा उपचारकै क्रममा शुक्रबार मृत्यु भएको थियो।

घटनापछि डिभिजन वन कार्यालयले शुक्रबारदेखि चितुवा नियन्त्रणमा लिन दुई वटा खोर राखेको थियो। कार्यालयले चितुवालाई नियन्त्रणमा लिन सफल भएको जनाएको छ।

चालु आर्थिक वर्षमा बर्दियामा चितुवाको सुरक्षित उद्धार गरिएको यो पहिलो घटना हो। कार्यालयका अनुसार साउनदेखि हालसम्म चितुवाको आक्रमणबाट एक जनाको मृत्यु हुनुका साथै ३८ वटा घरपालुवा जनावर मारिएका छन्।

पछिल्लो समय जिल्लाका गाउँबस्तीमा खसी, बाख्रा, बङ्गुर, गाई, भैँसी र कुकुरलगायत घरपालुवा जनावरमाथि चितुवा तथा बाघको आक्रमण बढ्दै गएको छ। वन्यजन्तुको आक्रमणबाट हुने क्षति न्यूनीकरण गर्न डिभिजन वन कार्यालयले खोर राखेर नियन्त्रणका प्रयास गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्