दुई दुर्घटना : दुईको मृत्यु, आठ घाइते
तनहुँ,असोज २६ । तनहुँमा सोमबार भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।
आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा बोलेरो जिप ब्याक भएर नालामा खस्दा स्थानीय ४७ वर्षीया इन्द्रमाया गुरुङको मृत्यु भएको छ। दुर्घटनामा सात जना घाइते भएका छन्। प्रहरीले जिप चालकलाई नियन्त्रणमा लिएको छ।
त्यसैगरी, पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ घाँसीकुँवामा सिमेन्ट बोकेको ट्रक सडकबाट करिब २० मिटर तल खस्दा धादिङका ३० वर्षीय चालक सञ्जीव मगरको मृत्यु भएको छ। दुर्घटनामा सहचालक २२ वर्षीय प्रदीप विक घाइते भएका छन्। दुवै दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

