रसुवामा स्थानीयवासीले बनाउन थाले आपत्कालीन पैदल पुल



रसुवा,असोज २७ । रसुवाको बाढी प्रभावित क्षेत्रमा सडक र पुल बगाउँदा अवरुद्ध आवागमन सहज हुन नसकेपछि स्थानीयवासीले जनश्रमदानबाट आपत्कालीन पैदल पुल निर्माण सुरु गरेका छन्।

बाढीले सडक तथा पुलमा क्षति पुर्‍याउँदा किसानलाई कृषि उपज बजारसम्म पुर्‍याउन र सर्वसाधारणलाई दैनिक आवतजावत गर्न कठिनाइ भइरहेको छ। सरकारले बेलीब्रिज निर्माण गरी यातायात सञ्चालनको तयारी गरे पनि त्यसबाट तत्काल स्थानीयको आवश्यकता पूरा नहुने देखिएपछि स्थानीयवासी आफैँ पुल निर्माणमा जुटेका हुन्।

याङयाङ खोलामा सर्वसाधारणको आवतजावत सहज बनाउने उद्देश्यले असोज २५ गतेदेखि स्थानीय समुदाय र सुरक्षा निकायको संयुक्त सहभागितामा काठको अस्थायी पैदल पुल निर्माण थालिएको हो।

पुल निर्माण कार्यलाई समयमै सम्पन्न गर्न स्थानीय सोनाम छिरिङ तामाङले गाउँवासीलाई श्रमदानमा सहभागी हुन आग्रह गरेका छन्। उनले स्थानीयवासीको भौतिक उपस्थिति र श्रमदानले निर्माण कार्यलाई सहयोग पुग्ने भन्दै फुर्सद मिलाएर अभियानमा सहभागी हुन अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्