बूढीगण्डकीको बाढीबाट प्रभावित मनास्लु क्षेत्रमा पर्यटक सुरक्षित
गोरखा,असोज २७ । बूढीगण्डकी नदीमा आएको बाढीका कारण मनास्लु क्षेत्रको पदयात्रामा प्रभावित भएका सबै पर्यटक सुरक्षित रहेको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले जनाएको छ।
आइतबार चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोलातर्फबाट बूढीगण्डकीमा आएको बाढीका कारण चुमउपत्यका पुगेका ८७ जना पर्यटक समस्यामा परेका थिए। त्यस्तै, मनास्लु क्षेत्रको प्रवेशविन्दुमा ९८ जना पर्यटक तथा ७३ जना गाइड र भरिया अलपत्र परेका थिए। उनीहरू सबै सुरक्षित रहेको एमक्यापका सूचना अधिकारी भुवनराज ओझाले जानकारी दिनुभयो।
बाढीले मनास्लु क्षेत्रको पदमार्गमा क्षति पुर्याएपछि चुमउपत्यकाको पदयात्रा अस्थायी रूपमा स्थगित गरिएको छ। चुमनुब्री गाउँपालिका–६ लोक्पास्थित सार्दीभिरमा रहेको झोलुङ्गे प्रकृतिको क्यान्टिलिभर पुल बगाएपछि चुमउपत्यकातर्फको पदमार्ग अवरुद्ध बनेको हो।
धार्चे गाउँपालिकाको माछाखोलादेखि चुमनुब्रीको जगतसम्मका अधिकांश स्थानमा पदमार्ग क्षतिग्रस्त भएको ओझाले बताउनुभयो। सामागाउँ जान चाहने पदयात्री भने हेलिकप्टरबाट सिधैँ फिलिमसम्म पुग्न सक्ने उहाँले जानकारी दिनुभयो।
एमक्यापका अनुसार फिलिमदेखि लार्के पाससम्मको पदमार्ग खुला र सुरक्षित छ। तर, माछाखोलादेखि जगतसम्म तथा सल्लेरी हुँदै जाने पदमार्ग क्षतिग्रस्त रहेकाले आवागमनमा समस्या भएको छ। क्षतिग्रस्त पदमार्ग पुनर्निर्माणका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको आयोजनाले जनाएको छ।

