कानुन संशोधन गरेर लगानीमैत्री वातावरण बनाइन्छ : मन्त्री गौतम
चितवन, असोज २७। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन संशोधन गरेर लगानीमैत्री वातावरण निर्माण गरिने बताउनुभएको छ। चितवन उद्योग सङ्घको ३५औँ वार्षिक साधारणसभालाई सोमबार सम्बोधन गर्दै उहाँले अस्पष्ट कानुनका कारण उद्योगी व्यवसायीले प्रशासनिक झन्झट बेहोर्नुपरेकाले समयसापेक्ष सुधार गरिने बताउनुभयो।
मन्त्री गौतमले अस्पष्ट कानुनलाई स्पष्ट बनाएर उद्योगी व्यवसायीका समस्या समाधान गर्न सरकार प्रयासरत रहेको बताउनुभयो। लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक पूर्वतयारी भइरहेको जानकारी दिँदै उहाँले हालै यससम्बन्धी कानुनमा गर्नुपर्ने सुधारबारे बृहत् कार्यशाला सम्पन्न भएको उल्लेख गर्नुभयो।
लगानीमैत्री कानुन निर्माणका लागि नीतिनिर्माता, कर्मचारीतन्त्र, निजी क्षेत्र र राजनीतिक क्षेत्रबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो। वर्षौंदेखि जटिल बन्दै आएका समस्या समाधान गर्न कानुन संशोधनको प्रक्रिया अघि बढाइएको उल्लेख गर्दै उहाँले पर्याप्त तयारी र छलफलपछि मात्रै सुधारका काम गरिने बताउनुभयो।
“बिना तयारी कानुन संशोधन गरियो भने त्यसको मूल्य नेपाली जनताले तिर्नुपर्ने हुन्छ,” उहाँले भन्नुभयो, “दीर्घकालीन रूपमा समस्या समाधान हुने गरी पूर्वतयारी, छलफल र संवाद गरिरहेका छौँ।” द्रुत प्रक्रियाबाट कानुन निर्माण गर्न पनि छदेखि आठ महिना लाग्ने उल्लेख गर्दै उहाँले सरकार कानुन निर्माणको चरणमा पुगेको जानकारी दिनुभयो।
कार्यक्रममा बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले उद्योगी व्यवसायीका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो। नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष शोभा गुरुङले भोटेकोशी बाढीबाट प्रभावित उद्योगको पुनःस्थापनाका लागि सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका सभापति मिनिमाधव खनाल, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा (एमाले) चितवनका अध्यक्ष कमल पाठक, नेपाल उद्योग परिसङ्घका कार्यवाहक अध्यक्ष भीम घिमिरे, चितवन उद्योग सङ्घका गभर्निङ काउन्सिल अध्यक्ष राजु पौडेल तथा सङ्घका अध्यक्ष मदन घिमिरेलगायतले उद्योग क्षेत्रका समस्या र सम्भावनाबारे धारणा राख्नुभएको थियो।

