परराष्ट्रमन्त्री खनाल र दक्षिण अफ्रिकी राजदूतबीच भेटवार्ता



काठमाडौं,असोज २७ । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत प्रा. अनिल सुकलालबीच भेटवार्ता भएको छ।

परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा नेपाल–दक्षिण अफ्रिका द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

भेटका क्रममा आर्थिक तथा लगानी सहकार्य अभिवृद्धि, दक्षिण–दक्षिण सहकार्यको प्रवर्द्धन र बहुपक्षीयतालाई थप सुदृढ बनाउनेलगायतका विषयमा विचार आदानप्रदान भएको थियो।

त्यसैगरी, नेपालमा हालै आएको विनाशकारी बाढीबाट उत्पन्न परिस्थितिबारे पनि छलफल भएको मन्त्रालयले उल्लेख गरेको छ।

जलवायु परिवर्तनविरुद्धको विश्वव्यापी प्रयासलाई प्रभावकारी बनाउन जोखिममा रहेका मुलुकहरूको आवाज अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाउनुपर्नेमा दुवै पक्षले जोड दिएका थिए। साथै, जलवायु परिवर्तनका चुनौती सामना गर्न अन्तर्राष्ट्रिय सहकार्य अभिवृद्धि गर्नुपर्नेमा समेत उनीहरूले जोड दिएका थिए।

प्रतिक्रिया दिनुहोस्