बाढी प्रभावित उद्योगीले पूर्वराष्ट्रपति भण्डारीलाई बुझाए ज्ञापनपत्र



काठमाडौं,असोज २७ । गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको लेदोसहितको बाढीबाट प्रभावित उद्योगी तथा व्यवसायीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पुनर्स्थापना, ऋण पुनर्संरचना र क्षतिपूर्तिका लागि पहल गरिदिन माग गरेका छन्।

मंगलबार बाढी प्रभावित उद्योग पुनर्स्थापना समन्वय संयन्त्रका संयोजक राजाराम अधिकारीको नेतृत्वमा नुवाकोट आएको उद्योगीहरूको टोलीले बाढी प्रभावित क्षेत्रको निरीक्षणमा रहेकी पूर्वराष्ट्रपति भण्डारीलाई ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्रमा बाढीका कारण नुवाकोटका कृषि, पशुपालन, पोलिथिन पाइप, काठ, ग्रिल, कुखुरापालन र डेरीलगायत दर्जनौँ साना तथा मझौला उद्योगमा पूर्ण क्षति पुगेको उल्लेख छ। उद्योगका भवन, मेसिनरी, कच्चा पदार्थ र पूर्वाधार नष्ट हुँदा करोडौँ रुपैयाँ बराबरको प्रत्यक्ष भौतिक क्षति भएको उद्योगीहरूले जनाएका छन्।

उद्योगीहरूले कर कार्यालयमा क्षतिको विवरण बुझाउनुपर्ने ३० दिनको म्याद बढाउन, एकद्वार प्रणालीमार्फत सेवा उपलब्ध गराउन तथा ऋणको साँवा–ब्याज भुक्तानीको समयसीमा २०८४ असार मसान्तसम्म थप गर्न माग गरेका छन्। त्यस्तै, सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन, डिमान्ड शुल्क मिनाहा गर्न, बिमा दाबीको भुक्तानी छिटो गर्न तथा क्षतिग्रस्त क्षेत्रमा तटबन्ध निर्माण र भारी उपकरण निःशुल्क उपलब्ध गराउन पनि आग्रह गरेका छन्।

बाढीलाई जलवायु परिवर्तनको असरका रूपमा व्याख्या गर्दै उद्योगीहरूले आगामी जलवायु सम्मेलन तथा अन्तर्राष्ट्रिय मञ्चमा ‘हानि तथा क्षति कोष’बाट शतप्रतिशत क्षतिपूर्ति उपलब्ध गराउन कूटनीतिक पहल गर्नसमेत माग गरेका छन्।

ज्ञापनपत्र बुझ्दै पूर्वराष्ट्रपति भण्डारीले उद्योगीहरूको समस्याप्रति सहानुभूति जनाउँदै सम्बन्धित निकाय र सरकारको ध्यानाकर्षण गराउन अभिभावकीय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्