ओमानलाई ११३ रनले हराउँदै नेपालको लगातार दोस्रो जित



काठमाडौं,असोज २७ । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा लगातार दोस्रो जित हासिल गरेको छ। अल अमिरात क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ११३ रनले पराजित गरेको हो।

नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमै अलआउट भयो। ओमानका कप्तान विनायक शुक्लाले सर्वाधिक ७७ रन बनाए। ४१ रनमै ६ विकेट गुमाएको ओमानका लागि शुक्ला र जे ओडेद्राले सातौँ विकेटका लागि ८३ रनको साझेदारी गरेका थिए।

नेपालका कप्तान सन्दीप लामिछाने र नन्दन यादवले तीन–तीन विकेट लिए। दीपेन्द्रसिंह ऐरीले दुई तथा करण केसी र ललित राजवंशीले एक–एक विकेट हात पारे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो। नेपालका रोहित पौडेलले ६१, अर्जुन कुमालले ४० तथा ईशान पाण्डे र बसिर अहमदले समान ३७ रन बनाए। करण केसीले १६ बलमा आक्रामक ४० रन जोडेपछि नेपालले प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो।

शृङ्खलाको पहिलो खेलमा नेपालले आइतबार क्यानडालाई २४ रनले हराएको थियो। लगातार दुई जितसँगै नेपालले लिग–२ मा ३४ खेलबाट २८ अङ्क जोडेको छ। नेपाल अङ्कतालिकाको छैटौँ स्थानमा छ। ओमान ३० खेलबाट ३३ अङ्कसहित चौथो र क्यानडा ३४ खेलबाट २५ अङ्कसहित सातौँ स्थानमा छन्।

लिग–२ को शीर्ष चारमा पुग्ने सम्भावना गुमाइसकेको नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन भने शीर्ष छभित्र रहनु आवश्यक छ। त्यसैले पछिल्ला दुई जितले नेपालको मान्यता जोगाउने अभियानमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

प्रतिक्रिया दिनुहोस्