दशैँमा पञ्चकन्याको बुढिसेरा–चुहानडाँडा सडक सञ्चालनमा



नुवाकोट, कात्तिक १ । नुवाकोटको पञ्चकन्या गाउँपालिकामा भदुटार, बुढिसेरा हुँदै वडा कार्यालय जोड्ने अवरुद्ध मोटरबाटो मर्मतपछि दशैँको समयमा सञ्चालनमा आएको छ ।

वर्षाका कारण क्षतिग्रस्त बनेको बुढिसेरा–चुहानडाँडा हुँदै गाउँपालिकाको कार्यालय जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयवासीलाई आवतजावतमा समस्या भएको थियो । सडक अवरुद्ध भएपछि यस क्षेत्रका किसानले उत्पादन गरेको काक्रो तथा अन्य तरकारी बजारसम्म पुर्‍याउन नसक्दा बारीमै कुहिने अवस्था सिर्जना भएको थियो ।

सङ्घीय तथा प्रदेश सरकारको बजेटमा सडक मर्मतका लागि रकम विनियोजन नभएपछि पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले दुई लाख रुपैयाँ बजेट व्यवस्थापन गरी सडक सरसफाइ तथा मर्मतका लागि चासो दिएका थिए । गत जेठदेखि नै मर्मतको प्रयास गरिए पनि सडकमा मोटरसाइकलसमेत सहज रूपमा आवतजावत गर्न कठिनाइ भइरहेको थियो ।

गाउँपालिकाको सहयोगमा स्थानीय टीकाप्रसाद कँडेलको अगुवाइमा सडक मर्मत कार्य सम्पन्न भएपछि दशैँमा घरगाउँ आवतजावत गर्ने सर्वसाधारणलाई सहज भएको छ । सडक सञ्चालनमा आएसँगै स्थानीय किसानले उत्पादन गरेका काक्रो तथा अन्य तरकारी बजारसम्म पुर्‍याउन सहज हुने भएपछि उनीहरूले राहत महसुस गरेका छन् ।

वर्षायाममा सडक अवरुद्ध हुँदा यातायातसँगै कृषि उपजको ढुवानीमा समेत समस्या झेल्दै आएका स्थानीयवासी सडक मर्मतपछि खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्