बंगालको खाडीमा चक्रवातीय आँधीको सम्भावना, नेपालमा वर्षा हुन सक्ने
काठमाडौं,कात्तिक ७ । बंगालको खाडी आसपास विकसित न्यूनचापीय प्रणालीका कारण आगामी कात्तिक ११ देखि १५ गतेसम्म नेपालको मौसम प्रभावित हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार न्यूनचापीय क्षेत्र बलियो हुँदै कात्तिक ९ गते चक्रवातीय आँधीमा विकसित हुन सक्ने सम्भावना छ। उक्त प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै भारतको उत्तर आन्ध्र प्रदेश र दक्षिण ओडिसाको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गर्न सक्ने अनुमान गरिएको छ।
यसको प्रभावले कात्तिक ११ गतेदेखि १५ गतेसम्म नेपालमा मौसम बदली हुनुका साथै वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। यद्यपि, नेपालमा कति वर्षा हुन्छ, जोखिमको अवस्था कस्तो रहन्छ र यसले कस्तो प्रभाव पार्छ भन्ने विषयमा अहिले नै यकिन गर्न नसकिने महाशाखाको भनाइ छ।
सम्भावित प्रतिकूल मौसमले कृषि तथा पर्यटन क्षेत्रमा असर पार्न सक्ने भएकाले सम्बन्धित सबैलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ।
महाशाखाले मौसमसम्बन्धी मोडल, भू–उपग्रहका तस्बिर तथा तथ्याङ्कको विश्लेषण गर्दै प्रणालीको विकासक्रमबारे निरन्तर निगरानी गरिरहेको जनाएको छ। थप जानकारी प्राप्त भएपछि आवश्यकताअनुसार सूचना अद्यावधिक गरिने र मौसमसम्बन्धी आधिकारिक सूचनालाई नियमित रूपमा हेर्नसमेत महाशाखाले अनुरोध गरेको छ।

