अमिताभ बच्चनको बंगलामा बम विस्फोट गराउने धम्की
काठमाडौं,कात्तिक ७ । बलिउड अभिनेता अमिताभ बच्चनको मुम्बईस्थित ‘जलसा’ बंगलामा बम विस्फोट गराउने धम्की आएपछि प्रहरीले अनुसन्धान थालेको छ।
शुक्रबार प्राप्त धम्कीपूर्ण इमेलमा बच्चनको निवाससँगै मुम्बईकी मेयरको कार्यालय, केही विद्यालय र गायक दिलजीत दोसाँझको आगामी कन्सर्टलाई समेत निशाना बनाउने उल्लेख छ।
इमेलमा खालिस्तानसम्बन्धी नारा उल्लेख गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। तर, धम्की पठाउने व्यक्तिको पहिचान र उद्देश्य खुल्न सकेको छैन। मेयरको कार्यालयमा गरिएको सुरक्षा जाँचमा कुनै शङ्कास्पद वस्तु फेला नपरेको प्रहरीले जनाएको छ। धम्कीमा उल्लेख गरिएका अन्य स्थानमा पनि सुरक्षा निगरानी बढाइएको छ।

